विराटनगर । लियो क्लब अफ विराटनगर यङ्ग हार्ट र लायन्स क्लब अफ विराटनगर यङ्ग हार्टको संयुक्त आयोजनामा वक्तृत्वकला प्रतियोगिता हुँदै छ । यही भाद्र १३ गते शुक्रबार अन्तर–कलेजीय वक्तृत्वकला प्रतियोगिता हुने भएको हो । मोरङ उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम बिहान १० बजे सुरु हुने क्लबले जनाएको छ । यो प्रतियोगिता क्लबका पूर्वअध्यक्ष स्व. लियो पुष्प चौधरी को स्मृतिमा आयोजना गर्न लागिएको हो । भाद्र ४ गते साँझ सडक दुर्घटनामा निधन भएका चौधरीप्रति श्रद्धाञ्जलीस्वरुप प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ । प्रतियोगितामा विराटनगर तथा अन्य क्षेत्रका विभिन्न कलेजका +२ तहका विद्यार्थीहरूको सहभागिता रहनेछ । प्रतियोगिताको शीर्षक “महंगी, बेरोजगारी र युवाको भविष्य” तय गरिएको छ ।
प्रतियोगितामा प्रथम हुने प्रतियोगीले नगद १० हजार रुपैयाँ, मेडल, ट्रफी, प्रमाणपत्र, एक वर्षको जीवन बीमा, तीन महिनाको जिम सदस्यता र विभिन्न क्याफेबाट फुड कुपन प्राप्त गर्नेछन् । दोस्रो हुनेले नगद ५ हजार रुपैयाँसहित मेडल, ट्रफी, प्रमाणपत्र र फुड कुपन पाउनेछन् भने तेस्रो हुनेले ३ हजार रुपैयाँ नगद, ट्रफी, मेडल, प्रमाणपत्र र फुड कुपन प्राप्त गर्नेछन् ।
चौथो हुने प्रतियोगीलाई १५०० रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ । साथै, सहभागी सबैलाई प्रमाणपत्र र अतिथिहरूलाई टोकन अफ लभ दिइने क्लबले जनाएको छ ।