विराटनगर विराटनगरस्थित श्री दरैहिया कृषि सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। किसानको हक, हित र समस्या समाधानमा केन्द्रित यस सभामा सहकारीले गरेका कामको समीक्षा र आगामी योजनाबारे गहन छलफल भएको थियो। साधारण सभाको उद्घाटन गर्दै विराटनगर महानगरपालिकाका उप-प्रमुख शिल्पा निराला कार्कीले कृषि उत्पादन बढाउन र किसानको जीवनस्तर उकास्न सहकारी संस्थाको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो। साथै, उहाँले स्थानीय सरकारले सधैँ आवश्यक सहयोग र समन्वयका लागि तयार रहेको पनि स्पष्ट पार्नुभयो।
सहकारीका अध्यक्ष कुलप्रसाद खतिवडाका अनुसार सहकारीले किसानका समस्या समाधान गर्न थुप्रै पहलकदमी लिएको छ। विशेषगरी, सिँचाइको समस्या सम्बोधन गर्न दुई स्थानमा बोरिङ जडान गरिएको र किसानको मागअनुसार आठवटा बिजुलीका पोलहरू पनि जडान गरिएको उहाँले जानकारी दिनुभयो। अध्यक्ष खतिवडाले सहकारीले १० कठ्ठा जमिनमा केरा खेती सुरु गरेको र यसले अन्य किसानलाई पनि व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयो। साथै, भविष्यमा रासायनिक मलको सहज उपलब्धता का लागि पहल गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो।

सहकारीले रोजगारी सृजनाका लागि पनि कदम चालिरहेको उहाँले जानकारी गराउनुभयो। हाल किसानहरूले १०० रुपैयाँ दरले सिँचाइको सुविधा उपयोग गरिरहेका छन्। कार्यक्रममा विराटनगर महानगरपालिका वडा नम्बर-१६ का वडा अध्यक्ष उद्धवकुमार भुजेल, इलाका प्रहरी कार्यालय, रानीका प्रहरी निरीक्षक कवीन राई, सशस्त्र प्रहरी बल बीओपी दरैहियाका प्रहरी निरीक्षक विभूहित दाहाल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, सहकारीका सदस्य र स्थानीय किसानहरूको उल्लेख्य सहभागिता रहेको थियो। कृषि क्षेत्रमा आधुनिक प्रविधि र सहकारीको समन्वयले किसानको उत्पादन वृद्धि गरी उनीहरूको आर्थिक अवस्था सुधार गर्न मद्दत पुग्ने विश्वासका साथ साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ।
