रामेछाप । काठमाडौंमा सोमबार भएको ‘जेनजी’ पुस्ताको विरोध प्रदर्शनमा १९ जना प्रदर्शनकारीको ज्यान गएपछि त्यसको विरोधस्वरूप मंगलबार रामेछापको सदरमुकाम मन्थलीमा पनि युवाहरु सडकमा उत्रिएका छन् ।
मंगलबार बिहान मन्थलीको देवकोटा चोकमा युवाहरु भेला भई प्रदर्शन गरेका हुन् । उनीहरुले हातमा प्लेकार्डसहित नाराबाजी गर्दै निर्दोष युवामाथि भएको दमन र हत्या रोक्न माग गरेका छन् । साथै, प्रधानमन्त्रीले तत्काल पद त्याग गर्नुपर्ने मागसमेत उनीहरुले राखेका छन् ।राजधानीदेखि जिल्लासम्मका युवाले उठाएको आवाजलाई राज्यले सुन्नैपर्ने बताउँदै, दमन गरेर नागरिकलाई चुप राख्ने प्रयासले मुलुकलाई अझै संकटतर्फ धकेल्ने चेतावनी उनीहरुले दिएका छन् ।
उनीहरुले लोकतन्त्रमा प्रश्न सोध्नु, विरोध जनाउनु र सडकमा शान्तिपूर्ण प्रदर्शन गर्नु जनताको स्वाभाविक अधिकार भएको भन्दै त्यसलाई बल प्रयोग गरेर दवाउन खोजिएकोप्रति आपत्ति जनाएका छन् ।
मन्थलीमा गरिएको प्रदर्शनमा विद्यार्थी, स्थानीय युवा र विभिन्न पेशामा संलग्न व्यक्तिहरुको उपस्थिति थियो । आफूहरु शान्तपूर्ण प्रदर्शनको पक्षमा रहेको उनीहरुले बताएका छन् । काठमाडौंमा सोमबार भएको ‘जेनजी’ प्रदर्शनलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा १९ जनाको ज्यान जानुका साथै ठूलो संख्यामा सर्वसाधारण घाइते भएका थिए । त्यही घटनापछि मुलुकभरै विरोधको स्वर फैलिएको छ ।