विराटनगर । जेनजी विद्रोहका क्रममा विर्तामोडमा प्रहरीसँगको झडपमा परी घाइते भएका पाँचथर हिलिहाङ–२ का ३१ वर्षीय कमल भण्डारीको मृत्यु भएको छ । टाउकोमा गोली लागेका उनको विर्तामोडस्थित बीएनसी हस्पिटलमा उपचार भइरहेको थियो ।
भण्डारीको मृत्यु भएको पुष्टि गर्दै झापाका प्रहरी प्रवक्ता एवं डीएसपी खगेन्द्र बहादुर खड्काले भने, ‘उनको मृत्यु भएको भन्ने जानकारी अस्पतालबाट आएको छ । उनको गोली लागेर मृत्यु भएको हो । तर, प्रहरीको हतियार खोसिएको थियो । खोसिएको हतियार पड्काउँदा उनलाई गोली लागेको हो कि के हो भन्ने बुझ्न सकिएको छैन ।’
विर्तामोडकै झडपका क्रममा यसअघि झापा अर्जुनधाराका अन्दाजी ३० वर्षीय गोपाल सेडाईको मृत्यु भएको थियो । जेनजी विद्रोहकै क्रममा सुनसरीको इटहरीमा झडप हुँदा २३ गते इटहरीका २३ वर्षीय अभिषेश श्रेष्ठ र इटहरी १४ का मोहन सरदारको मृत्यु भएको थियो ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक पोखरेलले घाइतेको तथ्याङ्क भने नआइसकेको बताए । ‘हामी विवरणहरू सङ्कलन गरिरहेका छौँ । अहिलेसम्म यकिन विवरण आएको छैन,’ उनले भने ।