जनकपुर । जेनजी आन्दोलनको क्रममा जलेर ध्वस्त भएको मधेश प्रदेश सभा भवनमा प्लास्टिकको कुर्सी राखेर सभा सुचारु हुने भएको छ ।शनिबार जनकपुरधामस्थित प्रदेशसभा सचिवालयमा सभामुख रामचन्द्र मण्डलको अगुवाईमा बसेको सर्वदलीय बैठकले असोज ७ गते मंगलबार दिउँसो १ बजे मधेश प्रदेश सभाको बैठक बस्ने निर्णय गरेको छ ।बैठकमा सभामुख मण्डलले संघीयताको पक्षमा मधेस एकजुट रहेको सन्देश दिन सबै दलहरूबीच सहमति बनेको बताए । प्रदेशसभामा रहेका सबै राजनीतिक दलहरू संघीयताको संरक्षण र सुदृढीकरणका लागि एकसाथ उभिने प्रतिबद्ध जनाएको उनले बताए ।
जेनजी आन्दोलनको क्रममा प्रदेशसभा भवनमा आगजनी, तोडफोड तथा लुटपाट हुँदा सभा सञ्चालन हुने मुख्य भवनसहित परिसरभित्र रहेका अन्य भवन र सवारी साधन गरी ३० करोड भन्दा बढी क्षती भएको सभामुख मण्डलले जानकारी दिए ।बैठक बस्ने मुख्य भवनभित्रको फर्निचरसहित सम्पूर्ण सामग्री जलेर ध्वस्त भएकाले हालका लागि साधारण मर्मत गरी प्लास्टिकको कुर्सीमा बैठक सञ्चालन गर्ने तयारी गरिएको सभामुख मण्डलले बताए ।