काठमाडौँ — पछिल्ला पच्चीस वर्षमा दक्षिण एसियादेखि दक्षिणपूर्व एसियासम्म युवापुस्ताले उठाएका आन्दोलनहरूले पुराना राजनीतिक संरचनालाई निरन्तर चुनौती दिइरहेका छन्। नेपाल, श्रीलंका, इन्डोनेसिया, फिलिपिन्स र बंगलादेशमा देखिएका आन्दोलनहरू मूलतः भ्रष्टाचार, नातावाद र विशेषाधिकारविरुद्ध केन्द्रित छन्। तर नेताहरूको प्रतिक्रिया आश्चर्यजनक रूपमा मिल्दोजुल्दो छ—आन्दोलनलाई विदेशी हस्तक्षेप वा विपक्षी षड्यन्त्र भनेर चित्रण गर्ने, अनि वास्तविक मुद्दालाई बेवास्ता गर्ने।
श्रीलंका : “आन्दोलनले विदेशी लगानी भगायो”
२०२२ को Aragalaya आन्दोलन ले राजापाक्ष परिवारविरुद्ध उठेको जनआक्रोशलाई चरममा पुर्यायो। सुरुवातमा विदेशी शक्तिको खेल भनेर आरोप लगाइयो, तर अन्ततः दबाबले नै शासन परिवर्तन भयो। यहाँ पनि विदेशी हस्तक्षेपको कथा आन्दोलनलाई बदनाम गर्न प्रयोग गरिएको थियो, तर वास्तविक कारण भने भ्रष्टाचार, मूल्यवृद्धि र अत्यधिक पारिवारिक नियन्त्रण नै थियो।
इन्डोनेसिया : “Nepobaby Revolution”
१९९८ को Reformasi आन्दोलन ले सुहार्तो शासन ढाल्यो, तर हालैको Nepobaby Revolution ले राष्ट्रपति जोको विडोडोका छोरालाई केन्द्रमा ल्यायो। उपराष्ट्रपतिको उम्मेदवारीमा पारिवारिक नाताले ढोका खोलिएको भन्दै युवाले विरोध गरे। संसद भवनअगाडि भएका विरोधमा एक प्रदर्शनकारीको मृत्यु भएपछि सरकारलाई सांसदहरूको भत्ता कटौती गर्नुपर्यो। तर सत्तापक्षले पनि विदेशी एनजीओ र बाह्य शक्तिको नाममा आन्दोलनलाई बदनाम गर्ने प्रयास गर्यो।
फिलिपिन्स : “विकास अवरुद्ध गर्ने विदेशी”
२०२५ को Trillion Peso March ले बाढी नियन्त्रण आयोजना सम्बन्धी ठूला भ्रष्टाचार उजागर गर्यो। तर सरकारका समर्थकहरूले यसलाई विदेशी हस्तक्षेपले विकास रोक्ने प्रयास भनेर चित्रण गरे।
बंगलादेश : “विपक्षी र विदेशी एजेन्टहरूको षड्यन्त्र”
२०१८ को विद्यार्थी आन्दोलनदेखि हालसम्म बंगलादेशमा भएका विरोधहरूलाई सत्तापक्षले प्रायः विदेशी एजेन्ट र विपक्षी दलको षड्यन्त्र भनेर चित्रण गर्दै आएको छ। तर आन्दोलनकारीका माग शिक्षामा सुधार, भ्रष्टाचार अन्त्य र आर्थिक पारदर्शिता नै रहँदै आएको छ।
नेपाल : “विदेशी कब्जा अब हुन्छ”
२०२५ को Gen Z आन्दोलन ले नेपालमा बेरोजगारी, भ्रष्टाचार र सामाजिक मिडिया प्रतिबन्धविरुद्ध व्यापक असन्तोष उजागर गर्यो। सरकारले २६ वटा सामाजिक मिडिया प्लेटफर्म प्रतिबन्ध गर्दा युवा सडकमा उत्रिए, जसको प्रत्यक्ष परिणामस्वरूप कम्तीमा ७२ जनाको मृत्यु भयो र करिब २,००० घाइते भए। आन्दोलनले “नेपो बेबी” र “नेता सन्तान”को विलासी जीवनशैलीलाई कठोर प्रश्नचिन्ह खडा गर्यो।
तर सत्तापक्षले यसलाई वास्तविक मागको परिणाम नभई विदेशी शक्तिको षड्यन्त्रका रूपमा चित्रण गर्यो। युवालाई “अपरिपक्व” वा “अराजकतावादी” भन्दै, विदेशी घुसपैठको कथा निर्माण गरियो। तर यथार्थमा विदेशी हस्तक्षेपको कुनै ठोस प्रमाण प्रस्तुत गरिएन। यसैले नेपालमा विदेशी हस्तक्षेपको चर्चा प्रपोगाण्डा मात्र हो—सत्ताले जनआन्दोलनको वास्तविक स्वरलाई कमजोर पार्न प्रयोग गरेको प्रचार उपकरण।
साझा बहाना : विदेशी घुसपैठको मिथ्या कथा
यी पाँचै देशमा देखिएको साझा पैटर्न हो—आन्दोलनलाई विदेशी हस्तक्षेपको आरोप लगाएर वास्तविक मागलाई ढाकछोप गर्ने। तर अध्ययन र प्रमाणहरूले देखाउँछन्, यी आन्दोलनहरू बाह्य शक्तिको उक्साहट होइन, आन्तरिक असमानता, बेरोजगारी, नातावाद, पारिवारिक राजनीतिक वंशवाद र महँगा जीवनशैली विरुद्धको प्रत्यक्ष प्रतिक्रिया हुन्।
नेपालको हकमा विदेशी हस्तक्षेपको चर्चा केवल प्रपोगाण्डा बनेर प्रस्तुत भएको छ—सत्ताले आफ्ना विफलता ढाकछोप गर्न प्रयोग गरेको एक झुटो कथा। श्रीलंका, इन्डोनेसिया, फिलिपिन्स र बंगलादेशमा पनि त्यस्तै गरिएको देखिन्छ।
निष्कर्ष स्पष्ट छ : युवाहरूको साझा आवाज—पारदर्शिता, जवाफदेहिता ,नाताबाद, कृपाबाद र भ्रष्टाचारविरुद्धको विद्रोह—अब राष्ट्रवाद वा विदेशी हस्तक्षेपको झुटो कथाले दबाउन सकिँदैन।
-अच्युत गिरी,विराटनगर