विराटनगर । बिहीबारदेखि परेको अविरल वर्षाका कारण सुनसरी–मोरङ सीमाबाट बग्ने केशलिया खोलाको पानीको बहाव बढ्दै गएको छ । निरन्तरको वर्षाका कारण खोलामा पानीको सतह बढेसँगै आसपासका बस्तीमा बाढीको जोखिम बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्थानीय प्रशासनले केशलिया खोलाको आसपासका बासिन्दालाई सर्तक र सुरक्षित रहन आग्रह गरेको छ । विशेषगरी सुनसरीको बर्जु , इक्राई , हरिनगर, देवानगंज यता विराटनगरको रामपुर , विपन्न वस्ती , बखरी, दरैयावस्ती लगायत विराटनगरको दक्षिणीभेगका बासिन्दालाई अनावश्यक रुपमा खोलातिर नजान र सावधानी अपनाउन अनुरोध गरिएको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोईरालाले भने, “खोलाको बहाव बढ्दो छ, वर्षा अझै जारी रहेने भएकाले जोखिम बढ्न सक्छ, सर्वसाधारणले सतर्कता अपनाउन जरुरी छ।”
एता सुनसरी जिल्ला प्रशासन कार्यालयले पनि एक सुचना जारी गर्दै सुरक्षा निकायलाई सम्भावित विपद् न्यूनीकरणका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ । त्यसैगरी बाढी र डुवान क्षेत्रमा रहेका स्थानियवासीहरुलाई सतर्कता अपनाउन अग्राह गरेको छ ।