काठमाडौं । साताको तेस्रो कारोबारदिन मंगलबार नेप्से परिसूचक ओरालो लागेको छ । यसदिन नेप्से १२.५८ अंकले घट्दै २,६८३.१५ बिन्दुमा झरेको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा ०.४६ प्रतिशतको गिरावट हो ।
यसदिन सेन्सेटिभ इन्डेक्स २.४५ अंकले घटेको छ, फ्लोट इन्डेक्स ०.९८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०९ अंकले घटेको छ । आजको कारोबारमा कुल ३२२ वटा धितोपत्र किनबेच हुँदा १ करोड ८७ लाख ३ हजार १८३ कित्ता शेयर कारोबार भएको छ । सोमबार ८ अर्ब २२ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन कुल कारोबार रकम ८ अर्ब ६३ करोड १५ लाख १२ हजार ५४२ रुपैयाँ पुगेको छ । जम्मा ९२ हजार ३३८ पटक कारोबार भएको छ । कारोबार भएका कम्पनीमध्ये ६६ वटा कम्पनीको शेयर मूल्य बढ्दा १९० वटाको घट्यो भने ३ वटाको मूल्य स्थिर रह्यो । बजारमा गिरावट देखिए पनि केही कम्पनीका शेयरमा भने उल्लेखनीय वृद्धि देखिएको छ । सबैभन्दा धेरै बढ्ने कम्पनीमा कालिञ्चोक दर्शन लिमिटेड अग्रस्थानमा रह्यो । यसको शेयर मूल्य १० प्रतिशतले बढ्दै ८९१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । एचएलआइ लार्ज क्याप फण्डको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।
कारोबार रकमको आधारमा यसदिन एसवाई प्यानल लिमिटेड अग्रस्थानमा रह्यो । यस कम्पनीको मात्र करिब ५९ करोड २९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस्तै, आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको ४१ करोड रुपैयाँभन्दा बढी मूल्यको शेयर कारोबार भएको छ । १३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.७९ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य बढेको छ । यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.०९ प्रतिशत घटेको छ ।
बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घट्दा लगानीकर्ताको मनोबल कमजोर देखिएको छ । विश्लेषकहरूका अनुसार नाफा बुकिङ र लगानीकर्ताको पर्खाइको रणनीतिका कारण बजार दबाबमा परेको हुनसक्छ ।