काठमाडौं । उच्च उचाइमा बसोबास गर्ने मानिसहरूमा मधुमेहको जोखिम कम हुने तथ्यलाई वैज्ञानिकहरूले नयाँ अध्ययनमार्फत पुष्टि गरेका छन् ।गल्याडस्टोन इन्स्टिच्युटका अनुसन्धानकर्ताहरूका अनुसार कम अक्सिजन भएको वातावरण (हाइपोक्सिया) मा शरीरका रातो रगतका कणहरूले रगतबाट ठूलो मात्रामा ग्लुकोज सोस्ने गर्छन् ।
अक्सिजनको स्तर कम हुँदा रातो रगतका कणहरूले नयाँ प्रकारको मेटाबोलिक प्रक्रिया अपनाउने र यसले रगतमा रहेको अतिरिक्त चिनीलाई सोसेर ‘सुगर स्पन्ज’को रूपमा काम गर्ने हुनाले उच्च उचाइमा बस्नेहरूको रक्त चिनी सन्तुलित रहने देखिएको हो । शेल मेटाबोलिजम जर्नलमा प्रकाशित यस अध्ययनले रातो रगतका कणहरू ग्लुकोज मेटाबोलिजमको एउटा महत्वपूर्ण तर अहिलेसम्म ओझेलमा परेको हिस्सा भएको खुलासा गरेको छ । गल्याडस्टोन इन्भेस्टिगेटरका बायोकेमिस्ट डा. इशा जैनका अनुसार यो खोजले रक्त चिनी नियन्त्रणका लागि नयाँ उपचार पद्धति विकास गर्ने ढोका खोलेको छ । अध्ययनका क्रममा मुसाहरूलाई कम अक्सिजन भएको वातावरणमा राख्दा उनीहरूको ग्लुकोज स्तर तुरुन्तै घटेको पाइएको थियो । आधुनिक इमेजिङ प्रविधिले मांसपेशी वा कलेजो भन्दा पनि रातो रगतका कणहरू नै मुख्य ‘ग्लुकोज सिङ्क’ (ग्लुकोज सोस्ने केन्द्र) भएको देखाएको छ । यसै अनुसन्धानको आधारमा वैज्ञानिकहरूले ’हाइपोक्सी स्टाट’ नामक औषधिको सफल परीक्षण समेत गरेका छन् । यस औषधिले रातो रगतका कणहरूलाई अक्सिजन कम नभए पनि ग्लुकोज सोस्ने क्षमता प्रदान गर्दछ ।
मुसामा गरिएको प्रयोगमा यो औषधिले उच्च रक्त चिनीको अवस्थालाई पूर्ण रूपमा उल्ट्याउनुका साथै हाल प्रचलनमा रहेका अन्य उपचारभन्दा प्रभावकारी नतिजा दिएको थियो । डा. जैनका अनुसार यो पहिलो पटक हो कि अक्सिजनको कमीबाट हुने प्रभावलाई मधुमेहको उपचारमा प्रयोग गरिएको छ । यस खोजले मधुमेहका अतिरिक्त व्यायाम विज्ञान र गम्भीर स्वास्थ्य समस्याहरूमा समेत नयाँ उपचारको आशा जगाएको छ ।