यस्तो छ कोशी प्रदेशबाट नव निर्वाचित माननीयको सूची, को को भए निकटतम प्रतिस्पर्धी ?

<span class='c1'>यस्तो छ कोशी प्रदेशबाट नव निर्वाचित माननीयको</span> <span class='c2'>सूची, को को भए निकटतम प्रतिस्पर्धी ?</span>

विराटनगर । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत कोशी प्रदेशका जिल्लाहरूबाट प्रतिनिधित्व गर्ने २८ जना नयाँ सांसदको टुंगो लागेको छ । प्रदेशका १४ वटै जिल्लाका २८ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएसँगै नयाँ माननीयहरूको टुंगो लागेको हो ।

निर्वाचित २८ सांसदमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा रहेको छ । उसले एक्लैले १७ सीट जितेको छ । त्यसैगरी नेपाली कांग्रेस र नेकपा एमालेले समान ४–४ सीट जितेका छन् भने श्रम संस्कृति पार्टीले ३ स्थानमा विजय हासिल गरेको छ । अन्य दलका कुनै पनि उम्मेदवार कोशी प्रदेशबाट निर्वाचित हुन सकेनन् । झापा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीले क्लिन स्विप गरेको छ । बालेन्द्र शाह (बालेन) झापा क्षेत्र नं. ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फराकिलो मतान्तरले पराजित गर्दै सांसद बन्न सफल भए । शाहले ६८ हजार ३४८ मत पाउँदा दोस्रो स्थानमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ७३४ मत मात्रै पाए । निरन्तर यही क्षेत्रबाट चुनाव जित्दै आएका ओलीलाई शाहले यसपटक नराम्रो हार चखाएका हुन् । ३६ वर्षीय बालेन्द्र शाह पेशाले इन्जिनियर भए पनि केही वर्षअघिसम्म नयाँ पुस्तामाझ ¥यापरका रूपमा परिचित छन् । उनी २०७९ सालमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि राष्ट्रिय चर्चाको केन्द्रमा पुगेका हुन् । मेयरमा विजयी भएसँगै बालेनले भर्चुअल संसारमा बनेको लोकप्रियतालाई वास्तविक भूगोलसम्म विस्तार गर्न सफल भए । सामाजिक सञ्जालमार्फत स्थापित भएको उनको छवि राजनीतिक नेतृत्वसँग जोडिँदै अझ व्यापक बनेको हो । २०७२ सालको महाभूकम्पपछि उद्धार तथा राहत कार्यमा सक्रिय सहभागिता जनाउँदै उनले समाजसेवीको छवि पनि बनाएका थिए । युवामाझ लोकप्रिय रहेका बालेन्द्र शाह नै राष्ट्रिय स्वतन्त्र पार्टीले अर्को कुनै निर्णय नगरेमा अबको प्रधानमन्त्री बन्ने छन् । झापाकै क्षेत्र नं.४मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका शम्भु प्रसाद ढकालले ४३ हजार ६३१ मत पाए । उनका निकटतम प्रतिस्पर्धी बनेका नेकपा (एमाले) का लाल प्रसाद साँवा लिम्बूले ११ हजार ९८६ मत पाए । २०७९ सालको निर्वाचन भने लिम्बूले नै जितेका थिए ।

क्षेत्र नं. ३मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठक ३८ हजार ६७४ मतसहित निर्वाचित भए । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका राजेन्द्र प्रसाद लिङ्देनलाई पराजित गरेका हुन् । निकटतम प्रतिस्पर्धी बनेका लिङ्देनले १७ हजार २९४ मत पाएका छन् । २०७९ सालको निर्वाचन भने लिङ्देनले नै जितेका थिए। क्षेत्र नं. २ मा पूर्व उपसभामुख समेत रहेकी इन्दिरा राना मगरले पूर्वसभामुख नेकपा (एमाले)का देवराज घिमिरेलाई पराजित गरिन् । रानाले ६० हजार ११० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी बनेका घिमिरेले ११ हजार ३६८ मत मात्रै पाए । २०७९ सालको निर्वाचनमा घिमिरे विजयी भई सभामुख बनेका थिए । यसअघि समानुपातिक सांसद रहेकी रानाले घिमिरेलाई नै हराएकी हुन् । क्षेत्र नं. १ मा पनि रास्वपा नेतृ निशा डाँगी निर्वाचित भइन् । उनले नेपाली कांग्रेसका केशव राज पाण्डेसहितलाई पराजित गरिन् । डाँगीले ४५ हजार ६८० मत ल्याउँदा निकटतम प्रतिस्पर्धी पाण्डेले १० हजार ५५० मत ल्याएका छन् । यो क्षेत्रमा कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले २०७९ सालको निर्वाचनमा यहाँ जित हासिल गरेका थिए । ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङ जिल्ला पनि रास्वपाले क्लिन स्विप गरेको छ । कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालादेखि चर्चामा रहेका डा. सुनिल शर्मासम्मले यहाँबाट हार व्यहोर्नुप¥यो । मोरङबाट कांग्रेसका महामन्त्री समेत पराजित भएका छन् । क्षेत्र नं. ६ मा रास्वपाकी उम्मेदवार रुविना आचार्य निर्वाचित भइन् । आचार्यले ५५ हजार ५१३ मत पाउँदा निकटतम प्रतिस्पर्धी बनेका कांग्रेसका डा. शेखर कोइरालाले १२ हजार ८५० मत मात्रै पाए । कोइराला २०७९ सालको निर्वाचनमा भने विजयी भएका थिए ।

क्षेत्र नं. ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी आशा झाले ३० हजार ४३४ मतसहित विजय हासिल गरिन् । उनको निकटतम प्रतिस्पर्धी बनेका नेपाली कांग्रेसका फुल कुमार लालवानीले ९ हजार ४१५ मत पाए । यसअघि यो क्षेत्र स्वतन्त्र उम्मेदवार रहेका योगेन्द्र मण्डलले जितेका थिए । क्षेत्र नं. ४ मा कांग्रेसका महामन्त्री गुरुराज घिमिरे रास्वपाका सन्तोष राजवंशीसँग पराजित भए । राजवंशीले ४० हजार ८३३ मत ल्याएर निर्वाचन जित्दा निकटतम प्रतिस्पर्धी बनेका कांग्रेसका गुरुराज घिमिरेले १२ हजार ८१८ मत पाएका छन् । यो क्षेत्र २०७९ को निर्वाचनमा नेकपाका अमनलाल मोदीले जितेका थिए । क्षेत्र नं. ३ कांग्रेस नेता डा. सुनिल शर्माको पकडको क्षेत्र मानिन्थ्यो । तर यहाँ पनि रास्वपाका उम्मेदवार गणेश कार्कीले विजय हासिल गरे । कार्कीले ३६ हजार ९२४ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी बनेका शर्माले २४ हजार ३५४ मत पाए । २०७९ को निर्वाचनमा शर्मा भारी मतका साथ निर्वाचित भएका थिए । क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण कुमार कार्कीले ४० हजार ९२४ मत ल्याएर निर्वाचन जिते । नेकपा (एमाले)का दिलीप कुमार अग्रवाल १५ हजार ६२४ मतसहित निकटतम प्रतिस्पर्धी बनेका छन् । २०७९ को निर्वाचनमा एमालेका ऋषिकेश पोखरेल विजयी बनेका थिए । क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका यज्ञमणि न्यौपाने २७ हजार ३६७ मतसहित निर्वाचित भए । यहाँ श्रम संस्कृति पार्टीकी शान्ती पाख्रिन लामा १७ हजार ५२२ मतसहित उपविजेता बनिन् । २०७९ को निर्वाचनमा कांग्रेसका मोरङ जिल्ला सभापति डिक बहादुर लिम्बुले जितेका थिए । चार निर्वाचन क्षेत्र रहेको सुनसरीमा पनि कांग्रेस एमाले बढारिएका छन् । यहाँ तीन क्षेत्र रास्वपाले जित्दा एकमा श्रम संस्कृति पार्टीले जित हाँसिल गरेको छ । क्षेत्र नं १ मा श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका हर्कराज राई निर्वाचित भए । राईले ३५ हजार ७४१ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङको २७ हजार २४९ मत आयो । अन्य उम्मेदवारको जमानत जफत नै भएको छ । यो क्षेत्रमा २०७९ को निर्वाचनमा जनता समाजबादी पार्टीबाट अशोक राईले जितेका थिए ।

क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका लाल बिक्रम थापा निर्वाचित भए । उनले कांग्रेसका राजीव कोइरालासहितलाई पराजीत गर्दै संसदमा यात्रा सुनिस्चित गरेका हुन् । थापाले ५७ हजार ३४८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी बनेका नेपाली कांग्रेसका राजीव कोइरालाले १६ हजार ७१ मत प्राप्त गरे । यो क्षेत्रमा २०७९ को निर्वाचनमा नेकपा एमालेका तर्फबाट भीम आचार्यले जितेका थिए । क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अशोक कुमार चौधरीले निर्वाचन जितेका छन् । अघिल्लो संसदमा पनि समानुपातिक सांसद रहेका उनले ४७ हजार ४२१ मतसहित यो निर्वाचन जितेका हुन् । यहाँ निकटतम बनेका नेपाली कांग्रेसका विजय कुमार गच्‍छदारले २० हजार ५०१ मत पाएका छन् । यो क्षेत्रमा पनि अघिल्लो निर्वाचनमा एमालेकी भगवती चौधरी निर्वाचित भएकी थिइन् । अहिले भने उनि तेस्रो बन्न पुगिन् । क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका दीपक कुमार साह ४२ हजार ७७१ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी बनेका नेपाली कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्की मात्र १६ हजार ५८७ मत पाए । कार्की नै एसअघिको निर्वाचनमा निर्वाचित भएका थिए ।
उदयपुर जिल्ला पनि रास्वपाले क्लिन स्विप गरेको छ । दुई निर्वाचन क्षेत्र रहेको यो जिल्लाको १ नं निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका पारश मणि गेलाल ३० हजार ५९० मतसहित निर्वाचित भए । उनको निकटतम प्रतिस्पर्धी बनेका श्रम संस्कृति पार्टीका राजेश कुमार राईले ११ हजार ६०६ मत पाएका छन् ।

यहाँ अघिल्लो निर्वाचनमा कांग्रेसका डा.नारायण खड्का निर्वाचित भएका थिए । अघिल्लो निर्वाचनमा एमालेका अम्बर बहादुर रायमाझिले जितेको २ नं. निर्वाचन क्षेत्रमा पनि यो पटक रास्वपाका सुर्य बहादुर तामाङ्गले जित हाँसिल गरे । १४ हजार ८०२ मत पाएका उनको निकटतम प्रतिस्पर्धि बनेका रायामाझीले भने यो पटक ७ हजार ६४८ मत मात्रै पाएका छन् । दुई निर्वाचन क्षेत्र रहेको इलामा भने १ नं. क्षेत्रमा कांग्रेस र २ नं. मा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । इलाम क्षेत्र नं. १ मा कांग्रेसका निश्कल राईले १४ हजार ५४३ मतसहित निर्वाचन जित्दा निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ्ग लिम्बुले १३ हजार ६३२ मत पाएका छन् ।

यो क्षेत्र २०७९ को निर्वाचनमा भने नेकपा एमालेले जित हाँसिल गरेको थियो । एमाले उम्मेदवार महेश बस्नेत यहाँ निर्वाचित भएका थिए ।
क्षेत्र नं. २ मा भने एमालेका सुहाङ नेम्वाङले आफ्नो जितलाई कायम राखेका छन् । २०८१ मा भएको उपनिर्वाचनमा विजयी भएका नेम्वाङले यो निर्वाचनमा २२ हजार ४२६ मत ल्याएर निर्वाचित भएका छन् । निकटतम बनेका नेपाली कांग्रेसका भेषराज आचार्यले १४ हजार ६५० मत पाएका छन् ।

अघिल्लो २०७९को निर्वाचनमा नेकपा एमालेले जित हाँसिल गरेको पाँचथरमा भने यस निर्वाचनमा कांग्रेस उम्मेदवार नरेन्द्र कुमार केरुङ निर्वाचित भएका छन् । केरुङले १७ हजार २३३ मत पाउँदा श्रम संस्कृति पार्टीका हस्त राज शेर्माले १४ हजार ७३४ मत पाएर दोस्रो बनेका छन् ।
धनकुटा जिल्लामा एमालेका उम्मेदवार राजेन्द्र राई निर्वाचित भएका छन् । २०७९ को निर्वाचनको जितलाई नै कायम राख्दै राईले १८ हजार १३२ मतका साथ निर्वाचित भएका हुन् । दोस्रो बनेका नेपाली कांग्रेसका दिनेश राईले १४ हजार २५७ मत पाएका छन् ।

तत्कालीन माओवादी केन्द्रका उम्मद्वार सुदन किँरातिले २०७९ को निर्वाचन जितेको भोजपुर जिल्ला भने यो पटक श्रम संस्कृति पार्टीका धु्रबराज राईले बाजी मारेका छन् । राईले १६ हजार ६६३ मत पाउँदा निकटतम बनेका नेकपा (एमाले)का शेरधन राईले भने १४ हजार ७५० मत पाएका छन् ।

तत्कालीन माओवादी केन्द्रका उम्मद्वार नै रहेका रामकुमार राईले २०७९ को निर्वाचन जितेको खोटाङ जिल्लामा पनि यो निर्वाचनमा श्रम संस्कृति पार्टीका उम्मेदवारले विजय हाँसिल गरेका छन् ।

सो पार्टीका उम्मेदवार आरेन राईले १६ हजार ६१२ मतसहित निर्वाचन जित्दा नेकपा एमालेका देव विक्रम राई १२ हजार ७१४ मतका साथ दोश्रो भए ।

२०७९ को निर्वाचन कांग्रेसका नेता रामहरी खतिवाडाले जितेको जिल्ला हो ओखलढुंगा । तर यो निर्वाचनमा भने कांग्रेसकै उम्मेद्वार कुमार लुईटेललाई ५ मतान्तरले हराउँदै रास्वपाका उम्मेदवार विश्वराज पोखरेल प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् ।
पोखरेलले १३ हजार ९५३ मत पाउँदा नेपाली कांग्रेसका लुईटेलले १३ हजार ९४८ मत पाएका छन् ।

तेह्रथुम जिल्लामा भने नेपाली कांग्रेसले २०७९ को निर्वाचनमा जितेको साख जोगाएको छ । कांग्रेस नेतृ सीता गुरुङले जितेको यो जिल्लामा यो पटक पनि कांग्रेसकै उम्मेदवार सन्तोष सुब्बा निर्वाचित भएका छन् ।

सुब्वाले ११ हजार ५६१ मतका साथ निर्वाचन जित्दा नेकपा (एमाले)का भानु भक्त ढकाल १० हजार ६८२ मतसहित दोस्रो भएका छन् ।
सोलुखुम्बु जिल्लामा पनि नेपाली कांग्रेसले जित हाँसिल गरेको छ । कांग्रेका उम्मेदवार प्रकास सिंह कार्की १३ हजार १६६ मतका साथ निर्वाचित भएका हुन् । उनको निकतम प्रतिस्पर्धामा नेपाली कम्युनिष्ट पार्टीका अशिम राई ९ हजार ४१४ मतका साथ आए ।

यो जिल्ला भने २०७९ को निर्वाचनमा नेकपा एमालेले जितेको थियो । एमालेका मानबीर राईले सो निर्वाचन जितेका थिए ।
एसअघि कांग्रेसका दीपक खड्काले जितेको जिल्ला संखुवासभामा भने यो निर्वाचनमा एमालेका उम्मेदवार अर्जुनकुमार कार्की निर्वाचित भएका छन् ।

कार्कीले १५ हजार ६३६ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका मिङमा शेर्पा १५ हजार मतका साथ निकटतम प्रतिस्पर्धी भएका छन् ।
कोशी प्रदेशको अर्को जिल्ला ताप्लेजुङमा पनि यो निर्वाचन एमालेले जित हाँसिल गरेको छ । एमालेका उम्मेद्वार क्षितिज थेबे १३ हजार ९६२ मतका साथ निर्वाचित हुँदा नेपाली कांग्रेसका गजेन्द्र प्रसाद तुम्याङ लिम्बु ११ हजार ७११ मतका साथ दोस्रो भएका छन् ।

यो जिल्ला एसअघि पनि नेकपा एमालेले नै जितेको जिल्ला हो । एमालेका उपमहासचिव योगेश भट्टराईले अघिल्लो निर्वाचन जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्