विराटनगर। मंगलबार सेयर बजारमा उत्साहजनक वृद्धि देखिएको छ। नेप्से परिसूचक २३.८३ अंकले बढ्दै २९६० बिन्दुमा पुगेको छ, जुन करिब ८ महिनायताकै उच्च स्तर हो।
यद्यपि कारोबार रकम भने केही घटेको छ। अघिल्लो दिन १५ अर्ब ७८ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार १४ अर्ब ८३ करोड रुपैयाँमा सीमित भयो। आज बजारमा १३६ कम्पनीको शेयर मूल्य बढ्दा ११७ कम्पनीको घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ। समूहगत रूपमा व्यापार क्षेत्र सबैभन्दा बढी ९.१२ प्रतिशतले बढेको छ। यसमा सूचीकृत कम्पनीमध्ये विशाल बजारको शेयर मूल्य ९.९१ प्रतिशतले बढ्दा उक्त समूह अग्रस्थानमा पुगेको हो। त्यसैगरी बैंकिङ ०.६७%, विकास बैंक १.३८%, फाइनान्स ०.५१%, हाइड्रोपावर १.३२%, लगानी ०.११% र उत्पादन तथा प्रशोधन समूह ०.८६% ले वृद्धि गरेका छन्। होटल तथा पर्यटन ०.१७%, जीवन बीमा ०.३७%, माइक्रोफाइनान्स ०.४६% र निर्जीवन बीमा ०.३८% ले सामान्य गिरावट देखाएका छन्। आज ६ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ। ती कम्पनीहरूमा रिलायन्स स्पिनिङ मिल्स, सालपा विकास बैंक, सोलु हाइड्रोपावर, हिमालयन पावर पार्टनर, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन रहेका छन्।
घट्ने कम्पनीतर्फ फर्स्ट माइक्रोफाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै ६.५६ प्रतिशतले घटेको छ। साथै मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ५.११% र मेरो माइक्रोफाइनान्सको ४.५३% गिरावट आएको छ। कारोबारका आधारमा राधि विद्युत्, अपी पावर, एचआईडीसीएल प्रमोटर, ङादी ग्रुप र शिवम् सिमेन्ट अग्रस्थानमा रहेका छन्।