झापा । झापाको अर्जुनधारामा मन्दिरभित्र ग्रीलको काम गर्ने क्रममा करेन्ट लागेर एक युवाको ज्यान गएको छ । बिहीबार दिउसो १२ बजतिरको समयमा अर्जुनधारा –४ भाङबारीस्थित विन्दाबासिनी मन्दिर परिसरमा ग्रीलको काम गरिरहेका २३ वर्षीय गोविन्द मण्डलको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीकाअनुसार भारत धुपगढी स्थायी घर भई हाल बिर्तामोडमा सञ्चालित पूजा ग्रील उद्योगमा कार्यरत मण्डल करेन्ट लागेर घाइते भएपछि उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको थियो ।
अस्पताल लग्नासाथ चिकित्सकहरुले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताउनुभयो । खड्काका अनुसार घटनाको बिषयमा अनुसन्धान भइरहेको छ ।