बिर्तामोड। नयाँ वर्षको दिन झापामा अत्यधिक सवारी बढेको छ । दुर्घटना हुँदा एकजनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा सशस्त्र प्रहरीका सहायक हवल्दार रहनुभएको छ ।
मङ्गलबार नयाँ वर्षका दिन साँझ ५ः३० बजे मेचीनगर – २ दुर्गा मन्दिरस्थित मदन भण्डारी राजमार्गमा तिरिङखोलाबाट बाहुनडाँगीतर्फ आउँदै गरेको मे ७ प ९६५ नं. मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि सवार पाँचथर फिदिम १२ घर भई बीओपी बाहुनडाँगीमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार वर्ष ३५ का सचिन तामाङ गंभीर घाइते हुनुभएको थियो ।
त्यस्तै मोटरसाइकल चालक झापा अर्जुनधारा १ घर भई बीओपी बाहुनडाँगीमा कार्यरत सशस्त्र प्रहरी हवल्दार वर्ष ४० का डिल्लीराम सुबेदी सामान्य घाइते हुनुभएको थियो । उपचारको लागि दुवै जनालाई बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा साँझ ६ः४५ बजे उपचारको क्रममा तामाङको मृत्यु भएको हो । मृतकको शव बीएण्डसी अस्पतालमै रहेको प्रहरीले जनाएको छ ।