इलाम । पर्यटकीय जिल्ला इलाम को माईजोगमाई गाउँपालिकास्थित थुम्केरानी क्षेत्र पछिल्लो समय चर्चित पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । यहाँबाट इलाम जिल्लाको विस्तृत भू–भाग, आकर्षक सूर्योदय तथा छिमेकी भारत का सहरहरूको दृश्यावलोकन गर्न सकिने भएपछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको हो । माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारबाट करिब ५ किलोमिटर दूरीमा रहेको थुम्केरानी पछिल्ला वर्षहरूमा सूर्योदय र सूर्यास्त अवलोकनका लागि लोकप्रिय बन्दै गएको छ । इलाम सदरमुकामबाट नजिक पर्ने भएकाले पनि यो पर्यटकहरूको पहिलो रोजाइ बन्न थालेको हो । इलाम बजारबाट सोयाङ हुँदै नयाँबजारसम्म सवारी साधनमार्फत करिब एक घण्टामा पुग्न सकिन्छ भने नयाँबजारबाट करिब ३० मिनेटको पैदल यात्रापछि थुम्केरानी पुग्न सकिन्छ ।
स्थानीय महेश सापकोटाका अनुसार पछिल्लो समय थुम्केरानी क्षेत्रमा नै होमस्टे सञ्चालनमा आएसँगै पर्यटकलाई थप सहज भएको छ । विशेषगरी असोज, कात्तिक, मंसिर, चैत्र र बैशाख महिनामा यहाँ पर्यटकको चहलपहल बढी हुने गरेको छ । समुद्री सतहबाट करिब २,४०० मिटर उचाइमा रहेको थुम्केरानीबाट इलामका सबै स्थानीय तहसँगै तराईका फाँटहरूको मनोरम दृश्य देख्न सकिन्छ । साथै, छिमेकी भारतका प्रसिद्ध पर्यटकीय सहर दार्जिलिङ र कर्साङ को दृश्यले पनि पर्यटकलाई लोभ्याउने गरेको छ । यस क्षेत्र पुगेका पर्यटकले घना जंगल, फराकिला फाँट, हिमश्रृङ्खलासँगै दुर्लभ वन्यजन्तु रेड पाण्डा को अवलोकनसमेत गर्न सक्ने स्थानीयको भनाइ छ ।