काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलन हाल गम्भीर संकटमा रहेको बताएका छन् ।
नेकपा स्थापना दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले समग्र राजनीतिक अवस्था अन्योलपूर्ण रहेको उल्लेख गरे । उनले भने, ‘अहिले सबैतिर एक प्रकारले भन्ने हो भने गहन चिन्तन गर्नुपर्ने अवस्था छ । आज कम्युनिस्ट आन्दोलन जुन संकटमा पुगेको छ, जुन संकटको अवस्थामा उभिएको छ सिंगो देशको राजनीति नै जसरी अन्योलताको मञ्चबाट अगाडि बढीरहेको छ । यो सबै कुराहरुको सन्दर्भमा कम्युनिस्ट पार्टीहरु, आन्दोलन र आफ्नो पार्टीको राम्ररी समिक्षा गर्न आवश्यकता छ ।’ उनले कम्युनिस्ट आन्दोलन अपेक्षाविपरीत ओरालो लागिरहेको र हालैको निर्वाचन परिणामले ठूलो धक्का दिएको बताए । उनले यस परिस्थितिमा पार्टी र आन्दोलनभित्र गहन समीक्षा आवश्यक रहेको धारणा राखे । उनले भने, ‘हुँदाहुँदै जसले देशको राजनीतिलाई अनेकौं मोडहरुमा महत्वपूर्ण भूमिका खेलेका छन् वा हेर्दाहेर्दै कम्युनिस्ट आन्दोलन ओरालो लागेको छ । यस पटकको निर्वाचनमा अप्रत्याशित रुपको परिणामको सामना गर्नु परेको छ, ठूलो धक्का खानु परेको छ । यस्तो धक्काको विश्लेषण गर्ने की नगर्ने, कमजोरीहरुको बारेमा छलफल चलाउने की नचलाउने ? कहाँ रहन गए कमजोरीहरु, कहाँ रहन गए समस्याहरु यसको निम्ती खुलस्त छलफल गर्नुपर्ने आवश्यकता छ ।’
नेपालले पार्टीका कमजोरी र समस्याबारे खुला रूपमा छलफल गर्नुपर्नेमा जोड दिए । उनले विगतमा देशको राजनीतिमा महत्वपूर्ण भूमिका खेलेको कम्युनिस्ट आन्दोलन अहिले किन कमजोर बन्न पुग्यो भन्ने विषयमा आत्ममूल्यांकन गर्न आवश्यक रहेको बताए । यसैगरी उनले माक्र्सवाद, कम्युनिस्ट पार्टीको भविष्य छैन भन्ने भाष्य सिर्जना गरेको छ भने त्यो निराशावादी भएको बताए । उनले भने, ‘माक्र्सवादको भविष्य छैन, कम्युनिस्ट पार्टीको भविष्य छैन भन्ने भाष्य सिर्जना गर्छ भने कसैलाई लागेको छ भने त्यो निराशावादी हो । निराशावादीबाट केही पनि हुनेवाला छैन । त्यसो भएका कारण कम्युनिस्ट पार्टीको भविष्य छ, माक्र्सवादको भविष्य छ, कम्युनिस्ट आन्दोलनको भविष्य छ ।’