विराटनगर । नोबेल शिक्षण अस्पतालको नाक, कान, घाँटी विभागद्वारा कक्लिएर इम्प्लान्ट सम्बन्धी एक विशेष अन्तर्क्रिया तथा सचेतना कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
विभागका वरिष्ठ विशेषज्ञ डा. शंकर प्रसाद साहको नेतृत्वमा आयोजित उक्त कार्यक्रममा काठमाडौंका वरिष्ठ स्पीच ल्याङ्ग्वेज प्याथोलोजिष्ट सविन शर्मा र अष्ट्रियाकी अडियोलोजिष्ट डागमर हेर्मानोभाको पनि उपस्थिति रहेको थियो । उनीहरुले सुन्न र बोल्न नसक्ने समस्याको आधुनिक उपचार विधिबारे आफ्ना अनुभव तथा प्रस्तुतीकरण साझा गरेका थिए । कार्यक्रममा अस्पतालका आवासीय चिकित्सक, मेडिकल अफिसर, कक्लिएर इम्प्लान्ट गराएका बालबालिका र उनीहरूका अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो।

उक्त अवसरमा चिकित्सकहरूले श्रवण अशक्तता भएका बालबालिकाहरूका लागि कक्लिएर इम्प्लान्ट एउटा वरदान सावित भएको चर्चा गर्दै शल्यक्रियापछि स्पीच थेरापी र हियरिङ थेरापीको महत्त्वबारे विशेष जोड दिएका थिए। उपचारपश्चात् बालबालिकाको जीवनमा आएको सकारात्मक परिवर्तन, उनीहरूको बढ्दो आत्मविश्वास र अभिभावकहरूको अनुहारमा छाएको खुसीले कार्यक्रमलाई निकै भावुक र प्रेरणादायी बनाएको थियो। अस्पतालले यस्ता आधुनिक प्रविधिमार्फत निरन्तर सेवा प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।