आज बीसौँ लोकतन्त्र दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। आजको दिनलाई विशेष गरि २०६२/६३ को जनआन्दोलन पछि देशले निरङ्कुश राजतन्त्रबाट मुक्ति पाएर संघीय लोकतान्त्रिक गणतन्त्र यात्राको सुरुवात गरेको दिनको सम्झना स्वरूप २०६३ सालदेखि मनाउन थालिएको हो। त्यतिबेला आन्दोलनको क्रममा विद्यार्थीहरुले उल्लेखनीय भूमिका निर्वाह गरेका थिए। क्याम्पसदेखि सडकसम्म विद्यार्थीहरुले परिवर्तनको आवाज उठाएका थिए।
तर अहिले नेपाल सरकारले विश्वविद्यालय मा हुने राजनीतिक गतिविधि हटाउने निर्णय गरेको कुरा सामाजिक सञ्जालमा चर्चाको बिषय बनेको छ। कसैले राम्रो भनेर प्रतिक्रिया दिएका छन् भने कतिले गलत भन्ने प्रतिक्रिया समेत दिएका छन्। यसले सुधारको नाममा विद्यार्थी संगठनहरुलाई नै कमजोर बनाउने प्रयास भएको हो कि जस्तो लाग्छ। वास्तवमा, विद्यार्थी संगठन भनेको केवल राजनीति गर्ने ठाउँ मात्र होइन यो भनेको विद्यार्थीको हक हितको रक्षा गर्ने र भोलिको दिनमा एक असल नेतृत्व गर्ने व्यक्ति जन्माउने थलो हो। क्याम्पस भनेको केवल पढाई गर्ने ठाउँ मात्र होइन, बहस,विचार र नेतृत्व विकाश गर्ने अभ्यासस्थल पनि हो।
यद्यपि क्याम्पसमा कहिलेकाही अव्यवस्था देखिन्छ । जस्तै झगडा, दबाब र अनावस्यक राजनीति । तर समस्याको समाधन भनेको समस्यालाइ जरै देखि हटाउनु होइन। स्पष्ट नियम, कडाईका साथ कार्यान्वयन र जिम्मेवार नेतृत्व विकासमार्फत यसलाई व्यवस्थित गर्न सकिन्छ। लोकतन्त्र केवल किताबमा सिमित हुने कुरा होइन, यसलाई अभ्यास गर्नुपर्छ। त्यसैले असल नेतृत्व जन्माउने थलो नै हटाउनु भन्दा सुधारेर अगाडि बढ्नु नै आजको आवश्यकता हो।