विराटनगर । भन्सारमा मालवस्तु जाँचपास भएपछि खुल्ला सीमा क्षेत्रबार रातभर मालपास हुन थालेको छ । खुल्ला रहेको नेपाल–भारत सीमा क्षेत्र प्रयोग गरेर भन्सार नजिक मालवहाक सवारीमा आइपुगेका मालवस्तु कटाउन थालिएको हो ।
चार दिनयता विराटनगर भन्सार कार्यालयमा व्यवसायिक मालवस्तुको जाँचपास भएको छैन । भन्सार बिन्दुमा व्यवसायिक वस्तु बोकेका सवारी थन्किन थालेपछि धेरै गाडी भारतको सडकमा होल्ड गरिएका थिए । होल्ड गर्नुको कारण भने पार्किङ्ग शुल्क बुझाउनु नपरोस् भन्ने थियो । तर, ढुवानी बाहेक दैनिक पाँच हजार डिटेन्सन बुझाउनुपर्ने व्यवसायिले सडकमा मालवस्तु लोड भएका ट्रक राख्न हतपत चाहँदैनन् । नचाहँदा नचाहँदै पनि भन्सार बिन्दु नजिक आइपुगेका मालवहाक सवारी रोकिएका थिए ।
सरकारले बिहीबारसम्म समस्या सुल्झाउने प्रयास गरेन । शुक्रबारदेखि तीनदिन बिदा छ । यता व्यवसायिले मगाएको सामानको जरुरी परिसक्यो । त्यहि भएर अहिले रातभर खुल्ला सीमानाका हुँदै मालपास गर्न थालिएको एकजना जानकारको भनाई छ । भन्सार बिन्दु हुँदै ल्याउनका लागि विभिन्न ट्रान्सपोर्टबाट लोड भएका सामान अहिले अवैध पैठारी भइरहेको हो ।
खुल्ला सीमाक्षेत्रबाट पछिल्लो समय क्यारिङ्ग बढ्यो, नियन्त्रण गर्नसक्ने अवस्थामा छैन । एकजना व्यवसायी भन्छन्–राती १० बजेदेखि बिहान ५ बजेसम्म अनदेखा तस्करी चलिरहेको छ । जुन भारतमा रोकेर राखिएका मालवहाक सवारीबाट अनलोड गराइएका सामान ल्याउने काम भइरहेको हो ।
सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर कंकालिनी गण टंकीसिनवारी मोरङका प्रहरी उपरीक्षक गेहेन्द्र भण्डारीले खुल्ला सीमाक्षेत्रमा अवैध पैठारी रोक्न त्यसैपनि चुनौती रहेको बताएका छन् । उनले ठ्याक्कै यहाँबाट भन्ने यकिन नहुँदा नियन्त्रण गर्न समस्या पर्ने बताए । प्रहरी उपरीक्षक भण्डारीकै अनुसार दिउँसो समेत महिलाहरुलाई प्रयोग गरेर भित्र्याइने सामान नियन्त्रणमा लिन सहज छैन । राती पनि उतिकै चाप भएपनि नियन्त्रणका सबै उपाय अपनाउने गरेको बताए ।
विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकी शर्मा राज्यले यसको उचित सम्बोधन नगर्ने हो भने सानो–सानो परिमाणमा वस्तु खरिद गरेर ट्रान्सपोर्टमार्फत आयात गर्ने व्यवसायिले भन्सार बिन्दुको बाटो बिर्सन सक्ने स्थिति आउनसक्छ भन्छन् । अध्यक्ष शर्माले बल्क कार्गो बाहेक भारतमा खरिद गरिएका सामान भन्सार बिन्दुमा रोकिन नसक्ने संभावना बढ्दै गएको बताएका छन् । जति भन्सार परिसरमा रोकिएको छ, त्यो बाहेक भारतकोे सडकमा रोकिएका सामान अवैध रुपमा भित्रनसक्छन्, त्यो राज्यले जान्ने कुरा हो ।
वस्तुको अधिकतम खुद्रा मूल्य (एमआरपी) तोकेर मात्रै भन्सार जाँचपास गराउनुपर्ने सरकारको निर्णयसँगै मंगलबारयता औद्योगिक कच्चा, स्याउ, आलु र प्याज बाहेकका वस्तुको आयात रोकिएको छ । यसले राज्यलाई झन् असर गर्ने संभावना छ । प्रहरी उपरीक्षक भण्डारी भने यसको नियन्त्रणका लागि सबैले सहयोग गर्नुपर्ने बताउँछन् ।