काठमाडौँ । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत घरेलु मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले ओमानमाथि ८१ रनको सानदार जित दर्ता गरेको छ।
अलराउन्डर गुलशन झाको घातक बलिङ र ओपनर आसिफ शेखको उत्कृष्ट ब्याटिङको मद्दतले नेपालले ओमानलाई सहजै पराजित गरेको हो। नेपालले प्रस्तुत गरेको २५७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको ओमान ३९.५ ओभरमा १७५ रनमै समेटियो। ओमानलाई सस्तैमा समेट्न गुलशन झाले एक्लै ५ विकेट लिए।
उनले ९ ओभरमा मात्र ३८ रन खर्चेर ओमानको ब्याटिङ लाइन ध्वस्त पारेका थिए। त्यस्तै करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान १-१ विकेट लिएर गुलशनलाई साथ दिए। ओमानका लागि विनायक शुक्लले सर्वाधिक ३६ रन जोडे भने हम्माद मिर्जाले ३४ र हसनैन उल वहाबले २९ रनको योगदान दिए। अन्य ब्याटर नेपाली बलरसामु क्रिजमा टिक्न सकेनन्।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर २५६ रन बनाएको थियो। नेपालका लागि ओपनर आसिफ शेखले सानदार ब्याटिङ गर्दै ९७ बलमा ७ चौका र ५ छक्कासहित ९४ रन जोडे। उनी मात्र ६ रनले शतक बनाउन चुके पनि नेपालको बलियो स्कोरका लागि महत्त्वपूर्ण आधार खडा गरे।
त्यसैगरी अर्का ब्याटर अर्जुन कुमालले ८७ बलमा ४८ रनको संयमित इनिङ्स खेले भने आरिफ शेखले २४ बलमा ४३ रनको आक्रामक पारी खेले। दीपेन्द्र सिंह ऐरीले ३३ र गुलशन झाले १७ रन जोडेका थिए। ओमानका लागि बलिङतर्फ नदीम खानले सर्वाधिक ३ विकेट लिएका थिए।