“आलटाल नगरी खा । विदेशको कमाइ हो ।” एक सुरुप पारेपछि दाइको आदेश थियो ।
“खाँदै छु । उम् . . . बहुत मिठो ।” चन्देले खसीको पोलुवाको स्वाद लिँदै जवाफ फर्कायो ।
“जिन्दगीमा बियर भेटेको थिस् कि थिनस् तर छाद्न पाउँदैनस् ।” सिन्काले दाँत कोट्याउँदै सचेत गराए ।
“आज कम बोल्ने धेरै खाने ।” उसले दुई प्लेट पोलुवा दश मिनेटमै सकेको थियो । मुखभरिका पोलुवा उसका दाँतमा रगेडिदै थिए ।
“दाइ चाहिँ आज अल्छी !” खुवाइको मन्द चालप्रति अलिकति असन्तुष्टिको चुस्की लगायो चन्देले ।
खाँदै गए ।
“ तैँलेभन्दा थोरै भए पनि बढी लिएर उठ्छु । धाक लाउँछस् ।” दुई बतल सकेर दाइले चुनौती दिए ।
“ अब एक हप्तापछि मेरो पालो ।” दाइलाई खुवाउने जिम्मेवारीपूर्ण कुरा गर्न सकेकोमा घोप्टिएर खाँदाखाँदै सिदा भयो चन्दे ।
“हो त ! ढाँटिनस् नि मुलाका साग ।” दाइको धुँवाले क्याविन निल्न लागेको थियो । त्यसमा चन्देले पनि थपथाप गरेको थियो ।
“अझै खा ! लोतीखरे मुला ।” सुरुसुरुमा हाङ्ग्राले पाङ्ग्रा निलेजस्तो गर्ने चन्दे दुई घन्टापछि अटसमटस भएर बहर गोरु भएको थियो भने दाइ सिधै थिए ।
मिश्र साहुले भने - “ सातहजार पाँचसय पचहत्तर !”
दाइले पर्सको वारपारको मुख्य गोजीदेखि कलको ह्वालह्वाली झर्ने मुखबाट थोपाथोपी पानी निकाले जस्तै गरी आठओटा हजार फुत्त निकाले । चन्देका सबै आँखा दाइको पर्समा अड्केका थिए ।
एक हप्तापछि,
“खाने हो आज, मुलाका साग ! स्वदेशी कमाइ ।” दाइले दश मिनेटमा दुई बतल बियरसँग चारप्लेट पोलुवा उडाइसकेका थिए । होटल धुँवामय बनेर स्वदेशी स्वादमा चन्देको पर्स पर्खदै थियो ।
“बोल्दैनस् त चन्दे ! एक बतल पनि सकेको छैनस्, पोलुवा जिउँदै छन् ।” खत्री दाइले चन्देको नुन खाको कुखुरोजस्तो बदलिएको स्वभावलाई बारम्बर प्लेटहरू खाली गरेर झस्काइरहेका थिए ।
“आज अलिक पेट सन्चो छैन । फोक्सो पनि मादल जस्तै बज्दै छ ।” न्याउरो बनेर जवाफ दियो ।
चन्दे पर्सको पैसाको हिसाब गर्न थाल्यो :
‘औषधी खर्च : . . . . . ,
बैकको सावाँब्याज : . . . . .
श्रीमतीको किरिम, लिपिस्टिक, कपडा : . . . .
छोरीहरूको फिस : . . . . .
किराना पसल : . . . . .
खैनी,भोला,चिया : . . . . . .’ इत्यादि
खत्री दाइसँग टेवलभरिका खाली प्लेट र बोतलले मिठा संवाद गर्न छोडेनन् । उता चन्दे तिन चारपल्ट ट्वाइलेट पस्दै निस्कँदै गरेको थियो ।
“के पेन्टको जिप पनि खुल्लै राख्छस् ! दिमाग कहाँ छ ?
चन्देले हतारहतार जिप तान्यो ।
के सार्हो पाकेजस्तो,पोलेजस्तो अनुहार बनाएको !”
आज साँच्चै नै मादकताले दाइको अनुहार झरिलो थियो ।
चन्दे चुपचाप थियो । सुरुमा कोट्याएको एक बतल र पोलुवा अझै बाँकी थियो चन्देको । दाइ अघाएजस्तो भए । यसो भित्तामा ढल्किए । आँखा चिम्लिए । यो सब देखेर चन्देले बल्ल ढुक्कले लामो सास फेर्यो । टेवलमा बाँकी रहेको स्वाट्ट पाऱ्यो । त्यहाँ रहेका प्लेटका वरिपरिका सलाद, पिरो अचार, चटपटे, पोलुवा चाटीचुटी बनायो ।
“अब निस्कनुपर्छ ।” दाइले आँखा उघारेर आफ्नो प्लेटको बाँकी रहेको एक पिस पोलुवा खाऊँ भन्दा थिएन ।
“ खाइस् . . .! मु . . . . !” खत्री दाइले रिसाइओरी थेगो दोहोऱ्याए ।
चन्दे सङ्कटमा पऱ्यो । त्यही एक पिस पोलुवाको स्वाद चन्देको ऱ्याले मुखमा बाँकी थियो । ऊ केही बोलेन ।
खत्री दाइको हप्की खाएर भन्दा पनि स्वदेशी कमाइको अभावको खालीपनले चन्दे टन्नै भएको थियो ।
“ए मिश्र भाइ !” खत्री दाइ कराए ।
“हजुर !”
“खै एक प्लेट पोलुवा लेऊ त ।”
खत्रीदाइको आदेश सुनेर चन्दे झस्कियो । न्यास्र्याक्क पऱ्यो । अब त झन चन्देको पेट गडबड गर्न थाल्यो । पोलुवाको पोलाइसँगै उसको दिमाग डढ्दै र छातीभरि धुँवा उड्दै गरेको प्रष्ट देख्न सकिन्थ्यो ।
अन्तिम प्लेटको पोलुवा सुइरोबाट घोचिदै दाइको सुरसा जत्रो मुखमा पस्तै गरेको चन्देले लुकीचोरी पनि हेर्न सकेन । दाइको प्लेटबाट चोरिएको पोलुवाको स्वाद उसले मुखमा जबरजस्ती खेलाइरह्यो ।
“ मिश्र भाइ पैसा कति भयो ?” दाइले चन्देको अनुहारमा राता आँखाले झस्काए । चन्देले पर्स खोतल्यो । ऊ मुढो जस्तो लाटो भयो । सुख्खा जिब्रो दुईपल्ट बाहिर निकाल्यो। उसलाई फेरि ट्वाइलेट जाऊँ कि नजाऊँ भयो । ऊ होटलका भित्तामा भएका अनेक जातका रक्सी एकोहोरिएर हेर्न थाल्यो ।
होटल भाइले जवाफ दिए - “आठहजार पन्ध्र ।”
स्वाभाविक लयमा आफ्नै पर्सबाट खत्री दाइले कटकटिया नोट निकालेर गने ।
चन्दे भोकै उठेकोमा उसलाई नमिठो भयो । उसको अनुहार ओइलाएको मुलाजस्तै बन्यो । फर्कंदै गर्दा पर्सको भित्री गोजीमा लुकाएको तिर्नुपर्ने अघिको हिसाबबाहेक उब्रिएको पाँचसयले एक केजी ब्रोइलर किनेर श्रीमती र छोरीहरूलाई खुसी बनाइओरी एक बोतल लोकल घरमै लगेर स्वदेशी अभावको तिर्सनालाई मेट्ने योजना चन्देले बनायो । बाटामा बेलाबेला साँझको रिमरिममा खत्री दाइले नदेख्ने गरी दाँतमा अड्किएका पोलुवाका झुत्रा काट्न बिर्सिएका नङले कोट्याउँदै मुख मिठ्याइरहेको थियो चन्दे ।
समाप्त !