विराटनगर । कोशी अस्पताल विराटनगरको जग्गा अतिक्रमण गरेर बनेका संरचना हटाउने तयारी थालिएको छ । स्वास्थ्य मन्त्रालयको गत बैशाख ३० गते निर्देशानात्मक परिपत्रसँगै यसको कार्यन्वयन प्रक्रिया बढेको हो । अहिलेको सरकारले आँटेमा संरचना हट्ने शतप्रतिशत संभावना छ । त्यसका लागि प्रारम्भिक चरणको नापजाँच आइतबारबाट थालिएको छ । जसले अस्पतालको जम्मा जग्गाको क्षेत्रफल यकिन हुनेछ ।
कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) राम नारायण चौधरीका अनुसार समिति बनाएर काम थालिएको हो । शाखा अधिकृत त्रिलोचन न्यौपानको संयोजकत्वमा बनेको समितिले काम सकेर प्रतिवेदन बुझाउने छ । जसमा मालपोत र नापीको प्रतिवेदन समेत समावेस गरिनेछ । त्यसपछि भत्काइने हो ।
आइतबार देखि थालिएको सीमा यकिन कार्यमा भने अस्पतालको जग्गा मिच्नेहरु हावी हुने खोजेपछि प्रहरीको संख्या भने उल्लेख्य परिचालन गरिएको थियो । प्राविधिक टोलि दशजना नहुँदा प्रहरी ४० जना मगाउनु परेको थियो, अस्पतालका एकजना कर्मचारीले भने–जग्गा मिचेर संरचना बनाउने अनि भाडामा लगाएर त्यसलाई अपचलन गर्नेहरुले दवाव दिन खोजिरहेका छन् । यहाँभन्दा अगाडी समेत देवकोटा पुस्तकालयले कोशी अस्पताललाई त्यस्तै दवाव दिएको थियो । हटाउन सक्ने संभावना देखेपछि उसले अभिषेक गिरीलाई नै सल्लाहाकारमा नियुक्त गरेको थियो । त्यो सरासर गुण्डागर्दीशैली मानिएको अस्पतालका एक कर्मचारी बताउँछन्
कोशी अस्पतालको नाममा पाँच बिघा आठ कठ्ठा नौधुर जग्गाको स्रेता रहेको छ । विराटनगर ७ नम्बर (साविक विराटनगर १०) वडाको कित्ता नम्बर १२, १५, २२, ११, २६ र २३ नम्बरमा अस्पतालको जग्गा छ । छ वटा कित्तामध्ये २६ नम्बरको सबैभन्दा धेरै जग्गा मिचिएको छ । अस्पतालले यहाँभन्दा अगाडी गरेको नापजाँचमा १३० दशमलम ५ मिटर जग्गा अतिक्रमण भएर त्यहाँ अन्य संघसंस्थाले संरचना बनाएर भाडा असुल्दै आएको देखिएको थियो । अस्पतालको जग्गामा गणेश मन्दिर, नेपाल क्षयरोग निवारण संस्था, नेपाल रेडक्रस सोसाइटी र देवकोटा पुस्तकालयले आफ्ना तथा आफ्नो मातहतमा राखेर भाडाका संरचना बनाएका छन् ।
मेडिकल सुपरिटेन्डेन्ट चौधरीका अनुसार संरचना भएका संस्थासँग आफ्नो पूर्जा छैन, जोसँग पूर्जा छैन त्यो जग्गा सबै अस्पतालको हो । तर, बारम्बार छोड्न भन्दा समेत विगतदेखि विवाद सिर्जना हुँदै आएको छ । कारण चाँहि संरचना बनाएर यी संस्थाले भाडा असुल्दै आएका छन् । कोशी अस्पतालका दुई ठूला संरचना बनिरहेका छन् । संघीय सरकारी अस्पताल परिसरमा ५०० शै्याको मेडिकल भवन र २५९ शै्याको बहु–विशेषज्ञता सेवा सञ्चालन भवन निर्माणाधीन चरणमा रहेका छन् । त्यसका लागि अस्पतालको आफ्नो जग्गा आफैं उपभोग गर्नुपर्ने अवस्था रहेको छ ।
अस्पताल प्रशासनकाका नासु नवराज लुईटेलका अनुसार जग्गा नापजाँचको कार्य गर्नुपूर्व २०७६ सालदेखि २०८३ असारसम्मको दशलाख ५७ हजार ६१० रुपिँया राजस्व अस्पतालले जम्मा गरेको छ । अस्पतालको जग्गामध्ये क्षयरोग निवारण संस्थाले ६ कठ्ठा ८ धुर, गणेश मन्दिरले २ कठ्ठा, देवकोटा पुस्तकालयले २ कठ्ठा १० धुर र रेडक्रस सोसाइटीले २ कठ्ठा बढी जग्गा ओगट्दै आएका छन् । यी सबै संरचना अस्पतालदेखि दक्षिण (अस्पताल चौकदेखि देवकोटाचौक) सम्मको सडकसँग जोडिएको हो । जहाँ ठूला अस्पतालदेखि मेडिकल पसल तथा प्रदेश संसद भवन, जिल्ला समन्वय समिति जस्ता संरचना भएकोले व्यापारिक क्षेत्र मानिन्छ ।
मेसु चौधरीका अनुसार अस्पतालको जग्गा यस अगाडी समेत बारम्बार खाली गर्ने प्रयत्न त गरिएको थियो । तर, पहँुचको प्रयोग बारम्बार भएर रोकिएको हो । यस पटक भने सीमा यकिन गरेर स्वास्थ्य मन्त्रालयलाई प्रतिवेदन पठाए लगतै स्थानीय प्रशासनसँग समन्वय गरेर भत्काइनेछ ।
अस्पतालको जग्गामा संस्था मात्रै बसेको नभएर ती संस्थाले भाडाका संरचना बनाएका छन् । अहिले अस्पतालको १३०.३ मिटर सडकसँग छोएको जग्गामा ३० भन्दा बढी व्यापारिक सटरहरु रहेका छन् । जुन अस्पताल चौकदेखि पूर्व देवकोटा चौकसम्म रहेको छ । २०८० सालमा अस्पतालले गरेको अध्ययन अनुसार क्षयरोग निवारण संस्थाले मासिक २ लाख, गणेश मन्दिरले १ लाख ६० हजार रुपिँया मासिक भाडा उठाउने गरेको पाइएको थियो । यसैगरी नेपाल रेडक्रस सोसाइटीले संरचना बनाएर राष्ट्रिय वाणिज्य बैंकलाई भाडामा लगाएर मासिक एकलाख ५० हजार र देवकोटा पुस्तकालय समेत भाडामा लगाएर आम्दानी असुल्ने गरेको देखिएको थियो ।
अस्पताल विकास समितिका पूर्व सदस्य मकुेश बुढाथोकीका अनुसार यी संस्थाहरुले संरचना बनाएर भाडा असुलेपनि त्यो संस्थागत कहिं नभेटिने दावी गर्दछन् । अस्पतालको जग्गा अस्पतालकै नाममा फर्काउनका लागि २०७६ सालदेखि बुढाथोकीले नै यसको अभियान चलाउँदै आएका छन् । २०८० सालमा विकास समिति सदस्यमा नियुक्त भएपछि नापजाँच गरेर यसको सीमा यकिन समेत गरिएको थियो ।
कोशी अस्पतालको पेरीफेरी दक्षिणपूर्व सडकमा जम्मा १५६ मिटर जग्गा पर्दछ । यसमध्ये बनसखण्डी मन्दिर १६ मिटर र नर्सिङ क्याम्पसको ९.५ मिटर जग्गा स्रेतामा देखिएको छ । बाँकी कुनैपनि संस्थाको नाममा जग्गा स्रेता छैन । यहाँ संरचना बनाउनेमा नेपाल क्षयरोग निवारण संस्था सबैभन्दा पुरानो हो । जसले २०१६ सालमै भवन बनाएको थियो ।