विराटनगर । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा लागू गरिएको कर्फ्यु आदेश हटाएको छ। प्रमुख जिल्ला अधिकारी इन्द्रदेवप्रसाद अर्यालद्वारा शुक्रबार जारी सूचनाअनुसार साउन १६ गते बिहान ५ः३० बजेदेखि साँझ ७ः०० बजेसम्म कर्फ्यु आदेश हटाइएको हो।
जिल्ला प्रशासनले यसअघि साउन १२ गते राति ९ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु आदेश जारी गरेको थियो। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गर्दै कर्फ्यु हटाइए पनि संवेदनशील क्षेत्रमा निषेधाज्ञा भने यथावत् कायम राखिएको प्रशासनले जनाएको छ।
प्रशासनका अनुसार निषेधाज्ञा अवधिभर एकै स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पाइने छैन। शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले यस्तो निर्णय गरिएको सूचनामा उल्लेख छ।
निषेधाज्ञा लागू रहने क्षेत्रहरूमा इटहरी उपमहानगरपालिका वडा नं. १६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, रामधुनी नगरपालिका वडा नं. १ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, इनरुवा नगरपालिका, दुहबी नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, गढी गाउँपालिका, देवानगञ्ज गाउँपालिका, हरिनगर गाउँपालिका तथा बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्र रहेका छन्।
देवानगञ्ज घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै प्रशासनले सुरक्षा व्यवस्था थप प्रभावकारी बनाएको छ। सर्वसाधारणलाई निषेधाज्ञाको पूर्ण पालना गर्न, अफवाहमा विश्वास नगर्न तथा सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।