झापा । जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणबाट झापामा पछिल्लो चार महिनामा पाँच जनाको मृत्यु भएको छ। जिल्लामा हालसम्म नौ जनामा जेई संक्रमण पुष्टि भएकोमा पाँच जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।
मृत्यु हुनेमा तीन पुरुष र दुई महिला रहेका छन्। संक्रमित नौ जनामध्ये मेचीनगरका तीन, हल्दिबारीका एक, बाह्रदशीका एक, कचनकवलका एक, बिर्तामोडका दुई र अर्जुनधाराका एक जना रहेका छन्।
स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार जेई संक्रमित अधिकांश ५० वर्षभन्दा माथिका रहेका छन्। उनका अनुसार पछिल्लो समय जिल्लामा जेई संक्रमणको जोखिम देखिएकाले सावधानी अपनाउन आवश्यक छ।
जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरसजन्य रोग हो। संक्रमण भएपछि भाइरसले मुख्यतः मस्तिष्कमा असर गर्ने गर्छ।
स्वास्थ्यकर्मीका अनुसार सुँगुर र हाँस जेई भाइरसका मुख्य स्रोत मानिन्छन्। विशेषगरी सुँगुर पालन गर्ने व्यक्ति तथा धानखेत र पानी जम्ने क्षेत्र आसपास बसोबास गर्नेहरू संक्रमणको उच्च जोखिममा रहने गर्छन्।
स्वास्थ्य कार्यालय झापाका खोप अधिकृत राजकुमार पोखरेलले जेईबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिन आग्रह गरेका छन्। साथै सरकारले सञ्चालन गर्ने नियमित खोप कार्यक्रममा सहभागी भई जेईविरुद्धको खोप लगाउन उनले सर्वसाधारणलाई आग्रह गरेका छन्।
स्वास्थ्य कार्यालयले संक्रमणको जोखिम कम गर्न लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन तथा जेईविरुद्धको खोपका विषयमा सचेत रहन सबैलाई आग्रह गरेको छ।