विराटनगर । जेन्जी आन्दोलनमा ध्वस्त भएको झापा बिर्तामोडको भाटभटेनी सुपरमार्केट आजबाट पुन संचालनमा आएको छ ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा पूर्ण रूपमा जलेर नष्ट भएको करिब एक वर्षपछि पुनः सञ्चालनमा आएको हो । बिर्तामोड शाखा आगजनीबाट ध्वस्त भएका १२ वटा मुख्य शाखामध्ये पुनः सञ्चालनमा आएको आठौँ स्टोर हो, जसमा चार वटा शाखा पुनः निर्माणको चरणमा छन् । गत वर्षको घटनामा भाटभटेनीले कुल १० अर्ब ८५ करोड रुपैयाँभन्दा बढीको क्षति व्यहोरेको थियो, तर व्यवस्थापनले कर्मचारी कटौती नगरी पुनः निर्माण अभियान जारी राखेको थियो । करिब एक वर्षअघि जेनजी आन्दोलनका क्रममा तोडफोड, लुटपाट र भीषण आगजनी गरी खरानी बनाइदिएको भवन पुनः निर्माण सम्पन्न गरी आइतबार बिहानदेखि सर्वसाधारण ग्राहकका लागि नियमित सेवा खुला गरिएको हो । आइतबार बिहान ९ ः१५ बजेको शुभसाइतमा वैदिक विधिपूर्वक पूजाअर्चना गरी पानसमा दीप प्रज्वलन गरेर बिर्तामोड शाखाको पुनः शुभारम्भ गरिएको व्यवस्थापक विनोद भट्टराईले बताए ।




भाटभटेनी सुपरमार्केटका संस्थापक अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ हाल अस्वस्थ भई स्वास्थ्य लाभ गरिरहेकाले उनको अनुपस्थितिमा उनकी धर्मपत्नी एवं निर्देशक सावित्री घले गुरुङ र छोरा एवं निर्देशक कल्याण गुरुङले संयुक्त रूपमा बत्ती बालेर स्टोरको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा भाट–भटेनीका सञ्चालकहरू, उच्च व्यवस्थापक, कर्मचारीका साथै झापा र आसपासका क्षेत्रका हजारौँ ग्राहकहरूको उपस्थिति थियो।