विराटनगर असोज २०,
अन्तर्राष्ट्रिय हस्पिटालिटी क्षेत्रको पछिल्लो अभ्यास र विश्वस्तरीय सीप विराटनगरका युवाहरूमाझ भित्र्याउने उद्देश्यका साथ स्विट्जरल्यान्डका ख्यातिप्राप्त प्रशिक्षक ओलिभियर कुराट यतिबेला विराटनगर आइपुगेका छन्।
विराटनगर १० स्थित ग्यालेक्सी होटल म्यानेजमेन्ट कलेजको निमन्त्रणामा नेपाल आएका विश्वप्रसिद्ध हस्पिटालिटी विज्ञ कुराटले कलेजका विद्यार्थी, प्राध्यापक तथा व्यवस्थापन टिमलाई आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय मापदण्डबारे प्रवर्द्धनात्मक प्रशिक्षण दिइरहेका हुन्।
कान्तिपुर कलेजसँगको सहकार्यमा ग्यालेक्सीले सञ्चालन गरिरहेको उच्चस्तरीय हस्पिटालिटी कार्यक्रम ‘एचडीएचएम’ अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै यो विशेष तालिम आयोजना गरिएको हो।
यो पाठ्यक्रम पूरा गरेपछि विद्यार्थीहरूले विश्वस्तरीय होटल तथा रिसोर्टहरूमा रोजगारी पाउनुका साथै विश्वका नामी विश्वविद्यालयहरूमा क्रेडिट ट्रान्सफरको सहज सुविधासमेत पाउँदै आएका छन्।
भ्रमणको पहिलो चरण अन्तर्गत सोमबार कलेजको प्रदर्शन हलमा कुराटले निर्देशक तथा प्राध्यापकहरूसँग हस्पिटालिटी अध्यापन विधि, अन्तर्राष्ट्रिय ट्रेन्ड र व्यावहारिक सीप विकासबारे विशेष सत्र सञ्चालन गरेका थिए।