विराटनगरमा मोटरसाइकल चोरीको बिगबिगी, नियमित हुँदैन चेकजाच

<span class='c1'>विराटनगरमा मोटरसाइकल चोरीको बिगबिगी,</span> <span class='c2'>नियमित हुँदैन चेकजाच</span>

सोनु साह,
विराटनगर । विराटनगरसहित आसपासका क्षेत्रमा मोटरसाइकल चोरीका घटना बढ्दै गएपछि सवारीधनीहरू त्रसित बनेका छन्। बजार, मन्दिर, विद्यालय तथा सार्वजनिक स्थानमा पार्किङ गरिएका मोटरसाइकलदेखि घरभित्र राखिएका सवारीसाधनसमेत चोरी हुन थालेपछि सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ।

सामान्य नागरिकदेखि व्यवसायीसम्मका मोटरसाइकल चोरी हुन थालेका छन्। यसअघि रातिको समयमा बढी हुने चोरीका घटना अहिले दिउँसैसमेत हुन थालेका छन्। दैनिकजसो चोरीका घटना सार्वजनिक हुन थालेपछि सर्वसाधारणमा त्रास बढ्दै गएको छ। मोटरसाइकल चोरी नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकिएको भन्दै प्रहरी प्रशासनको सक्रियतामाथि पनि प्रश्न उठ्न थालेको छ। मोटरसाइकल मात्र नभई साइकल, घर, गरगहना तथा पसलमा समेत चोरीका घटना बढ्दै गएको देखिन्छ।

मोरङ जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२÷०८३ मा मोटरसाइकल चोरीसम्बन्धी १४२ वटा घटना दर्ता भएका थिए। तीमध्ये १८ वटा मोटरसाइकल मात्र फेला परेका थिए। चोरीमा संलग्न रहेको आरोपमा २६ जनाविरुद्ध मुद्दा चलाइएको थियो।

त्यस्तै, आर्थिक वर्ष २०८३÷८४ सुरु भएयता हालसम्म जिल्ला प्रहरी कार्यालयमा मोटरसाइकल चोरीसम्बन्धी ३८ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये चारवटा मोटरसाइकल मात्र फेला परेका छन्। चोरीमा संलग्न रहेको आरोपमा ३३ जनाविरुद्ध मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीको तथ्यांकले देखाउँछ।

विराटनगर भारतीय सीमावर्ती क्षेत्र जोगबनीसँग जोडिएको सहर भएकाले सीमापारिबाट हुने आवतजावतलाई समेत चोरी नियन्त्रणका क्रममा ध्यान दिनुपर्ने देखिन्छ। खुला सीमाको फाइदा उठाउँदै चोरीका घटना हुने गरेको आशंका गरिए पनि यसमा संलग्न व्यक्तिहरूबारे अनुसन्धान र तथ्यमा आधारित निष्कर्ष आवश्यक छ। अर्कोतर्फ, लागुऔषध दुर्व्यसन र चोरीका घटनाबीचको सम्भावित सम्बन्धलाई पनि सुरक्षा निकायले अनुसन्धानको विषय बनाउनुपर्ने देखिन्छ। चोरीमा संलग्न केही व्यक्तिहरू लागुऔषध प्रयोगकर्ता रहेको पाइएको अवस्थामा दुर्व्यसन नियन्त्रण, निगरानी तथा पुनःस्थापनाका कार्यक्रमलाई प्रभावकारी बनाउनु आवश्यक हुन्छ। यद्यपि, लागुऔषध प्रयोग गर्ने सबै व्यक्ति चोरीमा संलग्न हुन्छन् भन्ने निष्कर्ष निकाल्न मिल्दैन।

चोरी भएका मोटरसाइकल तथा अन्य सामान सस्तो मूल्यमा बिक्री हुने गरेको आशंकालाई ध्यानमा राख्दै चोरीका सामान किनबेच हुने सम्भावित स्थानमा निगरानी बढाउनुपर्ने देखिन्छ। साथै, चोरीका सामान खरिद९बिक्रीमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही गर्न सके चोरीका घटनामा कमी ल्याउन सकिने अपेक्षा गरिएको छ। प्रहरीले आफूहरू सक्रिय रहेको दाबी गरे पनि चोरी भएका मोटरसाइकल फेला पर्ने दर न्यून देखिएकाले नियन्त्रणका प्रयास थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ। नियमित सुरक्षा जाँच, रात्रिकालीन गस्ती, सीमावर्ती क्षेत्रमा निगरानी, शंकास्पद गतिविधिमाथि अनुसन्धान तथा चोरीका घटनामा छिटो प्रतिक्रिया दिने प्रणालीलाई सुदृढ बनाउन आवश्यक छ। चोरीका घटनामा कमी ल्याउन प्रहरी प्रशासनको सक्रियतासँगै स्थानीय तह, व्यवसायी, सवारीधनी र समुदायबीच समन्वय पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। सर्वसाधारणको सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न र बढ्दो त्रास कम गर्न सम्बन्धित निकायले ठोस कदम चाल्नुपर्ने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्