ओलीको आरोप-गणतन्त्रका दलालले धर्मनिरपेक्ष बनाए,हिन्दु राष्ट्रका लागि एकजुट हुन आग्रह

<span class='c1'>ओलीको आरोप-गणतन्त्रका दलालले धर्मनिरपेक्ष बनाए,हिन्दु</span> <span class='c2'>राष्ट्रका लागि एकजुट हुन आग्रह</span>

सोनु साह,
विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ तथा सांसद खुश्बु ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज पुगेर घटनामा ज्यान गुमाएका तीन जनाका परिवारसँग भेटघाट गरेकी छन्। उनले पीडित परिवारका गुनासा सुन्दै सरकारले गरेको सहमति कार्यान्वयन नगरेको भन्दै आक्रोश व्यक्त गरेकी छन्।

गत साउन १० गते राति कप्तानगञ्जमा दुई समुदायबीच भएको विवादले उग्र रूप लिएपछि उत्पन्न घटनामा प्रहरीको गोली लागेर तथा घाइतेको उपचारका क्रममा तीन जनाको मृत्यु भएको थियो। उक्त घटनामा ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्रकुमार मेहताले ज्यान गुमाएका थिए।

घटनापछि सरकार र मृतकका परिवारबीच सातबुँदे सहमति भएको थियो। सहमतिमा क्षतिपूर्ति, पीडित परिवारलाई रोजगारीको अवसर सुनिश्चित गर्ने तथा घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्नेलगायतका विषय समेटिएका थिए। तर, सहमतिअनुसारका प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै पीडित परिवारले गुनासो गर्दै आएका छन्।


पीडित परिवारसँगको भेटघाटका क्रममा ओलीले सरकारले प्रतिबद्धता जनाए पनि त्यसलाई व्यवहारमा लागू नगरेको आरोप लगाइन्। घटनापछि सरकारले धार्मिक सहिष्णुताको र्‍याली निकालेको र मृतकका परिवारलाई रोजगारी उपलब्ध गराउने प्रतिबद्धता जनाएको उल्लेख गर्दै उनले तीन महिना बितिसक्दा पनि ती प्रतिबद्धता कार्यान्वयन नभएको बताइन्।

ओलीले नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्नेमा जोड दिँदै वर्तमान धर्मनिरपेक्ष व्यवस्थाप्रति आलोचना गरिन्। उनले ९० प्रतिशत हिन्दु रहेको भनिएको देशमा हिन्दु समुदाय डराएर बस्नुपर्ने अवस्था आएको दाबी गर्दै हिन्दु राष्ट्र कायम गर्न सबै हिन्दु तथा हिन्दुवादी संघसंस्थालाई एकजुट हुन आग्रह गरिन्।

उनले छठ पर्वपछि हिन्दु राष्ट्रको पक्षमा रहेका व्यक्ति तथा संघसंस्थाहरू एकजुट भएर अघि बढ्नुपर्ने बताइन्। हिन्दु राष्ट्र स्थापनाका लागि सबै हिन्दु एक नभएसम्म लक्ष्य हासिल गर्न नसकिने उनको भनाइ थियो।

‘गणतन्त्रका दलालहरूले विदेशीको पैसा खाएर देशलाई धर्मनिरपेक्ष घोषणा गरेका हुन्,’ ओलीले आरोप लगाइन्। उनले हिन्दु समुदायको सुरक्षा र देशको अर्थतन्त्र बलियो बनाउन हिन्दु राष्ट्र आवश्यक रहेको दाबी गर्दै अहिलेको संघर्ष धर्मनिरपेक्षताका पक्षधर र हिन्दु राष्ट्रका पक्षधरबीच रहेको बताइन्।

ओलीले राजसंस्थाको समयमा हिन्दु–मुस्लिमबीच अहिलेको जस्तो धार्मिक द्वन्द्व नरहेको दाबी गर्दै वर्तमान अवस्थामा आफ्नै देशमा हिन्दु समुदाय डराएर बस्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताइन्। उनले पृथ्वीनारायण शाहको मुस्लिम समुदायसँग राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै धार्मिक सद्भाव कायम गर्नुपर्नेमा जोड दिइन्।

कप्तानगञ्जलाई ऐतिहासिक स्थानको संज्ञा दिँदै ओलीले पीडित पक्षसँग सरकारले गरेको सहमति कार्यान्वयन गर्न माग गरिन्। उनले सरकारले आफैँले गरेका निर्णय किन कार्यान्वयन नगरेको भन्दै प्रश्नसमेत गरिन्।

राप्रपाको मुख्य राजनीतिक एजेन्डा नै हिन्दु राष्ट्र पुनःस्थापना रहेको उल्लेख गर्दै उनले त्यसका लागि जनतालाई एकजुट हुन आह्वान गरिन्। भेटका क्रममा ओलीले घटनामा ज्यान गुमाएका तीनै जनाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्