सोनु साह,
विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को रोमाञ्च अहिले काठमाडौंको कीर्तिपुरमा मात्र सीमित छैन। प्रतियोगिताका खेलसँगै विराटनगरको पुरानो गुद्री बजार पनि क्रिकेटमय बनेको छ। ठूलो स्क्रिनमा प्रत्यक्ष प्रसारण हेर्न दैनिक क्रिकेटप्रेमीहरू भेला हुन थालेपछि गुद्रीमा खेलको रौनक बढेको छ।

एनपीएलका खेल सुरु भएसँगै पुरानो गुद्रीमा दर्शकहरूको चहलपहल देखिन थालेको छ। स्क्रिनमा ब्याट्सम्यानले छक्का प्रहार गर्दा दर्शकको हुटिङ गुञ्जिन्छ भने विकेट झर्दा समर्थकहरूका अनुहारमा निराशा देखिन्छ। मैदानमा खेलाडीले देखाएको प्रदर्शनसँगै गुद्रीमा उपस्थित दर्शकको प्रतिक्रिया पनि उत्तिकै रोचक हुने गरेको छ।
एक्स्ट्रिम इनर्जी ड्रिङ्क कम्पनीको पहलमा पुरानो गुद्री बजारको खाली स्थानमा ठूलो स्क्रिन राखेर एनपीएलका खेल निःशुल्क हेर्ने व्यवस्था गरिएको हो। यही सुविधाले विभिन्न पेसा र क्षेत्रका मानिसलाई एउटै ठाउँमा भेला गराएको छ। खेलप्रेमी, कर्मचारी, प्रहरी तथा सर्वसाधारणसँगै फिफा रेफ्री किरण गिरीसमेत त्यहाँ पुगेर खेलको मज्जा लिने गरेका छन्।
विराटनगरका लागि ठूलो स्क्रिनमा सामूहिक रूपमा क्रिकेट हेर्ने यो अवसर मनोरञ्जनको माध्यम मात्र बनेको छैन, खेलप्रतिको उत्साह व्यक्त गर्ने साझा थलोसमेत बनेको छ। दर्शकहरू आफूले समर्थन गरेको टोलीको प्रदर्शनबारे छलफल गर्छन्, खेलाडीको ब्याटिङ र बलिङको समीक्षा गर्छन् र खेलको नतिजाबारे आ–आफ्ना अनुमान सुनाउँछन्।
यसअघि यस्ता प्रतियोगिता हेर्न धेरैजसोले घरको टेलिभिजन वा होटलको सहारा लिनुपर्ने अवस्था थियो। अहिले भने खुला स्थानमै निःशुल्क प्रत्यक्ष प्रसारण हेर्न पाएपछि क्रिकेटप्रेमीलाई सहज भएको छ। विशेषगरी साथीभाइसँग बसेर खेल हेर्ने र चौका–छक्कामा सामूहिक रूपमा खुसी साट्ने अवसरले दर्शकलाई थप आकर्षित गरेको छ।


कीर्तिपुरमा खेलाडीहरू जितका लागि संघर्ष गरिरहेका बेला विराटनगरको गुद्रीमा दर्शकहरू आफ्ना मनपर्ने टोलीको पक्षमा हुटिङ गरिरहेका हुन्छन्। खेलको हरेक मोडसँगै बदलिने दर्शकको प्रतिक्रिया र सामूहिक उत्साहले गुद्रीको वातावरणलाई थप जीवन्त बनाएको छ।
खेलकुदप्रतिको आकर्षण बढाउन यस्ता सार्वजनिक प्रदर्शनले महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्। निःशुल्क प्रसारणले आर्थिक वा अन्य कारणले खेल हेर्न कठिनाइ हुने दर्शकलाई समेत प्रतियोगितासँग जोड्ने अवसर दिएको छ।
यसरी एनपीएलले विराटनगरमा क्रिकेटको माहोल सिर्जना गरेको छ। कीर्तिपुरको मैदानमा हुने प्रतिस्पर्धाको रोमाञ्च पुरानो गुद्रीमा पनि अनुभव गर्न पाउँदा स्थानीय क्रिकेटप्रेमीहरू उत्साहित देखिएका छन्। ठूलो स्क्रिन वरिपरि जम्मा हुने दर्शकको भीडले विराटनगरमा क्रिकेटप्रतिको बढ्दो आकर्षणलाई समेत उजागर गरेको छ।