बिराटनगर। मोरङ जिल्लाका बक्सिङ प्रशिक्षक रवि शाह रौनियारले अन्तर्राष्ट्रिय बक्सिङ सङ्घ (आईबीए) को ‘वन–स्टार बक्सिङ कोच’ प्रमाणपत्र सफलतापूर्वक हासिल गर्नुभएको छ।
मोरङमा लामो समयदेखि बक्सिङ खेलको विकास, विस्तार र प्रतिभावान् खेलाडी उत्पादनमा सक्रिय रौनियारले आईबीएको उक्त अन्तर्राष्ट्रियस्तरको प्रमाणीकरण प्राप्त गर्नु जिल्लाको खेलकुद क्षेत्रका लागि एक महत्वपूर्ण उपलब्धि भएको छ। विगत आठ वर्षभन्दा बढी समयदेखि स्वयंसेवक बक्सिङ प्रशिक्षकका रूपमा योगदान दिँदै आउनुभएका रौनियारले सीमित स्रोतसाधनका बीच पनि स्थानीय खेलाडीहरूलाई नियमित प्रशिक्षण प्रदान गर्दै आउनुभएको छ। उहाँको यो सफलताले मोरङमा बक्सिङ खेलको व्यावसायिक विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा नयाँ पुस्तालाई खेलप्रति आकर्षित गर्न थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

अन्तर्राष्ट्रिय बक्सिङ सङ्घ (आईबीए) को यस वन–स्टार प्रमाणीकरणले प्रशिक्षकको प्राविधिक ज्ञान, आधुनिक प्रशिक्षण विधि, खेलाडीको प्रदर्शन सुधार, खेल सुरक्षा तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि खेलाडीलाई तयार पार्ने क्षमतासम्बन्धी दक्षतालाई समेट्ने गर्दछ।रौनियारको यो सफलताले स्थानीयस्तरमा गुणस्तरीय प्रशिक्षण प्रदान गर्ने अभियानलाई थप व्यवस्थित बनाउने र मोरङको समग्र खेलकुद क्षेत्रका लागि यो एक प्रेरणादायी उपलब्धि बनेको खेलप्रेमीहरूले बताएका छन्।