विराटनगर । विराटनगरमा बिहीबार बिहानैदेखि मौसम धुम्मिएको छ । बिहानैदेखि घाम बादलले ढाकिएको छ भने केही स्थानमा सिमसिम पानीसमेत परिरहेको छ। सामान्यतया बिहानै चर्को घाम लाग्ने विराटनगरको मौसम आज भने बदली भई चिसो र धुम्म देखिएको छ।
चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असरलाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले उच्च सतर्कता अपनाएको छ। सम्भावित जोखिम न्यूनीकरण, जनधनको सुरक्षा र अत्यावश्यक सेवाको निरन्तर सञ्चालन सुनिश्चित गर्न प्रशासनले मातहतका सम्पूर्ण निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । भारतको आन्ध्र प्रदेश र विशाखापट्टनम आसपास प्रभाव पार्ने अनुमान गरिएको उक्त चक्रवात नेपाल आइपुग्दासम्म कमजोर हुने आकलन गरिएको छ। यद्यपि, यसको प्रभावका कारण वर्षा, हिमपात तथा केही स्थानमा हावाहुरी चल्न सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। सम्भावित मौसमी जोखिमबाट सर्वसाधारणलाई सुरक्षित राख्न सुरक्षा निकायहरूले विभिन्न स्थानमा माइकिङमार्फत सचेतना फैलाइरहेका छन्। । जिल्ला प्रशासन कार्यालय मोरङले समेत सम्भावित जोखिमको पूर्वमूल्याङ्कन गर्दै आवश्यक पूर्वतयारी र सुरक्षा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

त्यसैगरी, भ्रामक सूचना तथा अफवाहको पछि नलाग्न र मौसमसम्बन्धी जानकारीका लागि आधिकारिक निकायबाट जारी सूचनालाई मात्र आधार मान्न आग्रह गरिएको छ। सम्भावित मौसमी जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाएर सुरक्षित रहन प्रशासनले सबै नागरिकलाई अपिल गरेको छ।