दिलकुमार लिम्बू,
ताप्लेजुङ । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले ताप्लेजुङको कञ्चनजङ्घा आधारशिविर जाने पर्यटक प्रभावित भएका छन् । उच्च हिमाली क्षेत्रमा हिमपात भएपछि आन्तरिक तथा बाह्य पर्यटकको यात्रा प्रभावित भएको हो ।
कञ्चनजङ्घा आधारशिविरतर्फ जाँदै गरेका पर्यटक प्रतिकूल मौसमका कारण लोनाक, खाम्बाचेन र आधारशिविर क्षेत्रबाट सुरक्षित स्थान घुन्सातर्फ फर्किएका छन् । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्, घुन्सा चेकपोस्टका पर्यटन सहायक टासी तेन्जिङ शेर्पाले पर्यटकहरू घुन्सामै रोकिएको जानकारी दिए ।
शेर्पाले भने, ‘बेसक्याम्प जाने पर्यटकहरू घुन्सामै बसेका छन् । ६–७ जना मात्र घुन्साबाट माथि गएका छन् । माथि हिमपात भइरहेको छ । हिमाल सेताम्मे देखिन्छ ।’ समुद्र सतहदेखि तीन हजार ४७५ मिटर उचाइमा रहेको घुन्सा बस्ती कञ्चनजङ्घा आधारशिविरको प्रवेशद्वार हो । घुन्साबाट दुईवटा क्याम्प पार गर्दै कञ्चनजङ्घा हिमालको उत्तरी आधारशिविर पाङ्पे पुग्न सकिन्छ । खाम्बाचेन समुद्र सतहदेखि चार हजार ५० मिटर, लोनाक चार हजार ७८० मिटर र उत्तरी आधारशिविर पाङ्पे पाँच हजार १४३ मिटर उचाइमा अवस्थित छन् । यी क्षेत्रमा हिमपात भएको छ ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार स्वदेशी तथा विदेशी गरी करिब २५० पर्यटक अहिले कञ्चनजङ्घा क्षेत्रमा छन् । उनीहरू त्यस क्षेत्रका विभिन्न बस्ती तथा होटलमा बसेका छन् । ओलाङचुङगोला, घुन्सा र याम्फुदिनलगायत क्षेत्रमा पर्यटकको चहलपहल बढी छ । भदौदेखि कात्तिक १२ गतेसम्म ६०० जना विदेशी पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका छन् ।
यता, सदरमुकाम फुङ्लिङमा पनि बिहीबारदेखि निरन्तर वर्षा भइरहेको छ । हिमाली क्षेत्रमा वर्षा र हिमपात भएपछि जिल्लामा चिसो बढेको छ । प्रतिकूल मौसमका कारण कञ्चनजङ्घा आधारशिविर जाने पर्यटकको यात्रा प्रभावित भएको छ ।