काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा रहेको गुडलक होटलमा आगलागी हुँदा होटलका दुईवटा भवन पूर्णरूपमा जलेका छन् ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मैसम तामाङका अनुसार होटलमा आगलागी भएको सूचना बिहान करिब ११ः५० बजे प्राप्त भएको थियो । सूचना प्राप्त भएपछि अस्थायी प्रहरी चौकी दिङबुतेबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । उनका अनुसार होटल सञ्चालक कुलबहादुर तामाङ रहेका छन् । आगलागीबाट होटलका दुईवटा भवन पूर्णरूपमा जलेको छ । प्रहरी निरीक्षक तामाङका अनुसार अहिले आगो पूर्णरूपमा नियन्त्रणमा आइसकेको छ । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।
आगलागीबाट भएको भौतिक तथा आर्थिक क्षतिको विवरण आउन बाकी रहेको उनले जानकारी दिए । क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको उनले बताए ।