विराटनगर । विराटनगर–३ स्थित उपाय लजिस्टिक तथा कुरियर अनलाइन कम्पनीको गेटमा आइतबार बिहान एकजना व्यक्ति अड्किएको अवस्थामा फेला परे । बिहान उक्त कार्यालय रहेको घरको गेटमा एकजना व्यक्ति यता न उता भएर अड्किएका थिए । प्रहरीका अनुसार उनी लागुऔषध प्रयोगकर्ता हुन् । सुनसरीको दुहबीमा बस्ने भएपनि घर चाँहि धनुषाको लक्ष्मीनियाँ हो ।
मोरङ प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार चोरी गर्ने व्यक्ति गेटमा अड्किएको अवस्थाबाट उद्दार गरेर अस्पताल लानुपरो । पक्राउ परेका व्यक्ति चोरीमा पटके हुन्, लागुऔषधका लती । क्रोनिक लागुऔषध सेवनकर्ता उनी चोरी गर्ने मनसायसहित घरमा प्रवेश गर्ने क्रममा होस नपुगेर गेटमा फसेका थिए । अर्को कुरा चाँहि उनी लागुऔषधको नसामा बेहोसी रहेकै स्थितिमा गेट चढेको दावी प्रहरीको छ ।
उनलाई उद्धार गरेर जिल्ला प्रहरी कार्यालय ल्याउन साथ छट्पटाउँदै फिँज काड्न थालेपछि प्रहरीले कोशी अस्पताल लगेको थियो । कोशी अस्पतालमा उपचार गराउन पनि प्रहरीलै खटाउनुपर्ने हुन्छ । प्रहरीले लिएर जाँदा डाक्टरले यसको भित्र लागुऔषधले सबै खराब भइसकेको छ, एकछिनको उपचार हुनेवाला छैन । सुधारगृहमा पठाएर सुधार्नसमेत स्रोत आवश्यक पर्दछ । जुन सबै स्रोत प्रहरीसँग छैन ।
प्रवक्ता मिश्रका अनुसार उनलाई अभिभावकको जिम्मामा छोडियो । उनी यस अगाडी पनि यसरी नै छोडिएका थिए । फेरी चोरीमा संलग्न भए, यसरीले पक्राउ परे, त्यसरी नै छोडिए । उनीमात्रै हैनन्, उनी जस्ता थुप्रै व्यक्ति लागुऔषधमा लत बसेपछि स्रोत जुटाउन चोरीमा संलग्न हुने गरेका छन् । जुन कुरा प्रहरीको नोटिसमा छ । तर, नोटिसमा भएपनि पक्राउ गरेर हिरासतमा राख्ने अवस्था छैन । हिरासत राख्न साथ काम्ने, अनि फिँज काँढेर लड्ने हुन्छन् । त्यसै छोड्दा मृत्यु हुने डर हुन्छ । अस्पताल लैजाँदा प्रहरीको खर्चसँगै जनशक्ति परिचालन गर्नुपर्ने हुन्छ ।
विराटनगरमा यहि कारणले अहिले सानासाना चोरीका घटना बढेका हुन् । चोरीमा संलग्न आरोपमा पक्राउ पर्दछन् तर हिरासतमा राख्न सक्ने अवस्था प्रहरीसँग छैन । आइतबार बिहान गेटमा अल्झिरहेका व्यक्ति त झन् घाउ नै घाउ भएकाले अस्पताल लैजानु बाहेकको विकल्प नै नभएको प्रहरीको दावी छ । प्रहरीका अनुसार कतिपय त वेवारिसे समेत भइसकेका छन् । जसलाई पक्राउ गरेर कानुनी उपचारमा ल्याउन समेत सहज भइरहेको छैन । कानुनले समेत बाध्न नसक्ने भएका वेवारिसे स्थितिका व्यक्ति अहिले विराटनगरमा तीनजना रहेको प्रहरीको बुझाई छ । जसको बाँकी पहिचान खुल्दैन, उसको व्यक्तिगत पहिचान लागुऔषध सेवनकर्ता र चोरीमा संलग्न रहने व्यक्ति भन्ने छ ।
मोरङका प्रहरी उपरीक्षक मिश्रले यस्ता व्यक्तिहरुलाई राखेर सुधार्ने गरी अलिक भिन्न किसिमको केन्द्र स्थापना गर्नुपर्ने अवस्था आइसकेको छ । जुन अभिभावक भन्दा बाहिर रहेका छन् अनि सामाजिक क्षति दोहो¥याउन पनि रोक्दैनन् ।