विराटनगरका विभिन्न स्थानबाट बाख्रा चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चोरी गरिएका बाख्राहूसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार, मिति २०८३ कात्तिक ११ गते रातिको समयमा विराटनगर महानगरपालिका वडा नं. ४ स्थित एक घरबाट १ वटा खशी र १ वटा बाख्रा तथा कात्तिक १४ गते रातिको समयमा वडा नं. ३ स्थित एक घरबाट १ वटा खशी र १ वटा बाख्राको पाठासमेत गरी जम्मा ४ वटा बाख्राहरू चोरी भएका थिए।
चोरी भएका बाख्राहरू विराटनगर महानगरपालिका वडा नं. ३ बस्ने ३६ वर्षीय प्रकाश राजवंशी र २४ वर्षीय श्याम राजवंशीले आफ्नो घरमा लुकाइछिपाइ राखेको भन्ने विशेष सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटिएको थियो। प्रहरीले कात्तिक १४ गते विहानको समयमा उनीहरूको घरमा खानतलासी गर्दा चोरी भएका ४ वटै बाख्राहरू फेला पारेको थियो।
बरामद गरिएका बाख्राहरूमा २ वटा खशी, १ वटा माउ बाख्रा र १ वटा बाख्राको पाठा रहेका छन्। पक्राउ परेका प्रकाश राजवंशी र श्याम राजवंशीलाई बाख्रासहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याइएको र चोरीसम्बन्धी मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभएको छ।