काठमाडौं । नेपाली चलचित्र ‘रङ्गी’ का लेखक सुमन गजमेरले ‘हाम्रो सानो घर’ बाट निर्देशनमा डेब्यु गर्ने भएका छन् । गजमेरले आफ्नो पहिलो निर्देशकीय चलचित्र ‘हाम्रो सानो घर’ निर्देशनको तयारी अघि बढाएका हुन् ।
‘हाम्रो सानो घर’ को कथा, पटकथा तथा निर्देशन गजमेर स्वयंले गर्नेछन् । निर्माण पक्षका अनुसार चलचित्रले समकालीन पुस्ता अर्थात् जेनेरेसन–जेड (जेनजी) को जीवन, प्रेम, सपना, सम्बन्ध र सामाजिक यथार्थलाई कथाको केन्द्रमा राख्नेछ । प्रेमकथामा आधारित हुने चलचित्रले मनोरञ्जनसँगै नेपाली समाजमा विद्यमान जातीय तथा वर्गीय विभेद, बदलिँदो सामाजिक सोच र नयाँ पुस्ताका आकांक्षालाई समेत उठान गर्ने निर्देशक गजमेरले बताएका छन् । गजमेरका अनुसार ‘हाम्रो सानो घर’ मार्फत नेपाली दर्शकलाई फरक स्वादको प्रेमकथा प्रस्तुत गर्ने प्रयास गरिनेछ ।
चलचित्र ‘रे अफ आर्ट’ प्रालिको ब्यानरमा निर्माण हुनेछ । निर्माण पक्षका अनुसार यसअघि रे अफ आर्टले चलचित्र ‘परिवार’ निर्माण गरिसकेको छ, जुन हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा छ । चलचित्रसँगै कम्पनीले विभिन्न म्युजिक भिडियो, सिरिज तथा डकुमेन्ट्री निर्माणमा समेत काम गरिसकेको जनाएको छ । हाल चलचित्रका कलाकार तथा प्राविधिक टोली छनोटको काम अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ । कलाकार तथा प्राविधिक टोली टुङ्गो लागेपछि चलचित्रको छायांकन सुरु गरिनेछ ।
निर्देशनमा डेब्यु गर्नुअघि गजमेरले अस्कर इन्टरनेसनल कलेजबाट फिल्म राइटिङ एन्ड डाइरेक्टिङ विषयमा स्नातक अध्ययन पूरा गरेका थिए । त्यसपछि उनले ‘कठपुतली’, ‘बाबरी’, ‘महापुरुष’ र ‘बलिदान’ लगायतका चलचित्रमा सहायक निर्देशकका रूपमा काम गरिसकेका छन् ।