विराटनगर । चौथो डीपीएस अन्तर्राष्ट्रिय आमन्त्रित अन्तरविद्यालय फुटबल रनिङ सिल्ड–२०८३ अन्तर्गत तेस्रो दिनको खेलमा माउन्ट हर्मोन चिल्ड्रेन एकेडेमीले फराकिलो जित निकालेको छ। आइतबार डीपीएस विराटनगरको खेलमैदानमा सम्पन्न खेलमा माउन्ट हर्मोन चिल्ड्रेन एकेडेमी, कानेपोखरी मोरङले विराटनगरको अजालिया सेकेन्डरी स्कुललाई ५–० गोल अन्तरले पराजित गरेको हो।

खेलको सुरुवातदेखि नै आक्रामक खेल प्रस्तुत गरेको माउन्ट हर्मोनले उत्कृष्ट टिमवर्क, बलमाथिको नियन्त्रण र प्रभावकारी रणनीतिमार्फत विपक्षी टोलीलाई दबाबमा राखेको थियो। खेल अवधिभर आफ्नो पकड कायम राख्दै माउन्ट हर्मोनले पाँच गोल गर्न सफल भयो। उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका माउन्ट हर्मोनका मिसेक खापुङ (जर्सी नम्बर २) प्लेयर अफ द म्याच घोषित भए।
प्रतियोगिताअन्तर्गत आगामी मंसिर १५ गते नेपाल र भारतका विद्यालयबीच प्रतिस्पर्धा हुने भएको छ। उक्त दिन नेपालको जीवन विकास पब्लिक स्कुल र भारतको माउन्ट जिओन स्कुलबीच खेल हुनेछ। खेल डीपीएस विराटनगरको मैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ।

डीपीएस विराटनगरको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा नेपाल तथा भारतका विभिन्न विद्यालयको सहभागिता रहेको छ। विद्यालयस्तरमा फुटबल खेलको प्रवर्द्धन, विद्यार्थीमा रहेको खेल प्रतिभाको पहिचान तथा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिताले विद्यार्थीमा अनुशासन, सहकार्य, आपसी मित्रता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने विश्वास आयोजकले लिएको छ।