रोल्पा । रोल्पाको थबाङ गाउँपालिका-१ को वडाध्यक्षका लागि भएको उपचुनावमा न्यून मतदान भएको छ । जम्मा १ हजार २ सय ७४ जना मतदाता रहेको वडा नम्बर १ को अध्यक्षको चुनावमा २ सय ९ जनाले मात्र मतदान गरेको मुख्य निर्वाचन अधिकृत रमेश प्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।
प्रतिशतको हिसावले यो १७ प्रतिशत भन्दा पनि कम रहेको ज्ञवालीले बताउनुभयो । मतगणना बेलुका साढे ६ बजेबाट सुरु गर्ने तयारी गरिएको छ । थबाङमा विप्लव समूहको प्रभाव रहेकाले पनि न्यून मत खसेको आशंका गरिएको छ ।
यस वडामा यसअघि विप्लवकै कार्यकर्ताले स्वतन्त्रबाट चुनाव जितेका थिए । वडाध्यक्ष फर्कबहादुर बुढाको गएको असारमा निधन भएपछि उपचुनाव भएको हो । वडाध्यक्षका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट जनक बुढा र नेपाली कांग्रेसबाट कलम रोकाको उम्मेदवारी रहेको छ । स्वतन्त्रबाट भद्रकुमार झाँक्रीले उम्मेदवारी दिए पनि सहमति हुन नसकेको भन्दै उम्मेदवारी फिर्ता लिनुभएको थियो ।
वडा सदस्यबाट राजीनामा दिएर उम्मेदवारी दिएका झाँक्रीले उम्मेदवारी फिर्ता लिएसँगै अन्य सबै वडा सदस्यले पनि राजीनामा दिएका छन् । स्वतन्त्रबाट उम्मेदवारी फिर्ता भएपछि न्यून मतदान भएको हो