सोलुखुम्बु । १० मंसिर ०५८ मा सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा युद्धरत तत्कालीन माओवादीले हमला गर्यो । सुरक्षाकर्मी र निजामती कर्मचारीसहित कामु मालपोत अधिकृत भीमबहादुर सम्बाहाम्फेको पनि निधन भयो । घटनामा मालपोतका सम्पूर्ण स्रेस्तासमेत जलेर खरानी भए । देशका लागि यो ठूलो त्रासदी थियो, तर यती एयरको समूहका लागि भने अवसर ।
मालपोतका स्रेस्ता जलेको र अधिकृतको समेत मृत्यु भएको ‘मौका’मा नयाँ कागजपत्र बनाएर निकुञ्जको ५० रोपनी जग्गा हात पार्ने योजना बनेको हो।
आक्रमण भएकै दिन अर्थात् १० मंसिर ०५८ को मिति राखेर निकुञ्जको नाममा रहेको कित्ता नं. २३५ लाई कित्ताकाट गरियो ।
कित्ता नं. ३८७ मा २४ रोपनी ११ आना १ पैसा र कित्ता नं.३८९ मा २५ रोपनी ४ आना १ पैसा कायम गरेर व्यक्तिको नाममा सारियो । यी दुई कित्ता जग्गा क्रमशः ल्हाक्पा तेन्जी शेर्पा र आङमाया शेर्पाको नाममा सारिएको थियो ।
जग्गा यसरी पास गर्दा मालपोत अधिकृतका रूपमा हस्ताक्षर भने सम्बाहाम्फेको गरिएको खबर आजको नयाँ पत्रिका दैनिकमा सुवास भट्टले लेखेका छन्। दिउँसो जग्गा पास गरेको र बेलुका माओवादी आक्रमण भएको साबित गरेर मृतक मालपोत अधिकृतलाई पनि दोषी बनाइएको थियो।
उता, विश्वसम्पदा सूचीमा रहेको निकुञ्जको जग्गा आफ्नो नाममा सार्ने ल्हाक्पा र आङमायालाई यति महत्वपूर्ण जग्गा आफ्नो नाममा आउँदै छ भन्ने थाहासमेत थिएन ।
करिब डेढ वर्षसम्म यो जग्गा उनीहरूकै नाममा रह्यो । १ जेठ ०६० मा दुवै कित्ताका जग्गा नामसारी गरियो । कित्ता ३८७ को २४ रोपनी ११ आना कोङ्दे भ्यु प्रालि र कित्ता ३८९ को २५ रोपनी ४ आना ल्हाक्पा सोनाम शेर्पाको नाममा सारियो ।
यती एयरका तत्कालीन प्रमुख आङछिरिङ शेर्पा नै कोङ्दे भ्यु प्रालिका सञ्चालक हुन् । त्यस्तै, ल्हाक्पा सोनाम उनका दाजु हुन् । सर्वोच्च शिखरको काखमा भएको निकुञ्जको जग्गा आफ्नो नाममा सार्ने शक्तिशाली व्यक्ति यी दुई भाइ नै हुन् ।
यसरी निकुञ्जको जग्गा व्यक्तिको नाममा पास गराउँदा केही कर्मचारी मिले पनि नापी कार्यालयलाई कागजी रूपमा जानकारी थिएन ।
अचानक निकुञ्जभित्र धमाधम भवन निर्माण सुरु भएपछि निकुञ्ज र नापीका कर्मचारी मात्र होइन, स्थानीय जनता पनि आश्चर्यचकित भए ।