विराटनगर । उपचार गर्ने पैसा नहुँदा छ महिना अघिदेखि घरमै थलिएर बसेका एक बिपन्न बिरामीलाई नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजाल र डा.सुनिल शर्माले उद्दार गरी निःशुल्क उपचारको व्यवस्था मिलाएका छन् । मोरङ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित नेता रिजालको पहलमा मोरङ रंगेली नगरपालिका–२ दौलतपुरका ३६ वर्षीय श्यामकुमार ऋषिदेवको उद्दार गरिएको हो ।
अत्यन्तै कमजोर आर्थिक अवस्थाका ऋषिदेव पैसा अभावमा उपचार गर्न नसकी घरमै थला परेर बसेका थिए । उनलाई नोबेल अस्पतालका सञ्चालकसमेत रहेका नेता शर्माले सम्पूर्ण खर्च बेहोरेर निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएका छन् ।
नोबेलमा निःशुल्क उपचारको व्यवस्था मिलाउँन पूर्व सञ्चारमन्त्रीसमेत रहेका कांग्रेस नेता रिजालसँगै कांग्रेस जिल्ला सचिब मोदराज घिमिरेले पनि पहल गरेका थिए । उपचार नपाएर थला परेका ऋषिदेवलाई निःशुल्क उपचारका लागि लैजान नेताहरु एम्बुलेन्स लिएर घरमै पुगी उनको उद्धार गरेका हुन् ।
आर्थिक अभावकै कारण उपचार गर्न नसकी घरमै थला परेर बसेको थाहा पाएर उनलाई निःशुल्क उपचारको व्यवस्था मिलाईएको नेता रिजालले बताए । ज्याला मजदुरी गरेर दुई छाक टार्दे आएको ऋषिदेव परिवारको अवस्था अत्यन्तै दयनीय छ । अर्काको जोतेर दुई छाकको जोहो गरी पाँच जनाको परिवार पाल्दै आएका उनी आफै बिरामले थलिदा परिवारको बिचल्ली भएको छ । तर, समस्यामा परेका बेला साथ दिने मान्छे पाउँदा पीडामा मल्हम लागेको अनुभूती भएको बिरामी श्यामकुमारकी श्रीमति बिनादेवीले बताईन् ।
मुटुमा समस्या देखिएका ऋषिदेवलाई डा.शर्माले नोबेल अस्पतालमा निःशुल्क औषधि उपचारसहित खाना र खाजाको व्यवस्था पनि मिलाईदिएका छन् । हजारौं गरिब, बिपन्न तथा असहाय बिरामीलाई निःशुल्क उपचार गरिसकेका डा.शर्माले ऋषिदेवको उपचारमा लाग्ने सम्पूर्ण खर्च बेहोर्ने प्रतिवद्धता जनाएर सोहि अनरुप उपचारको व्यवस्था मिलाईदिएका हुन् ।