फरिया भैंमा लतारी, हेर्छौ वारिपारि
कस्लाई साँच्यौ कान्छी नानी जवान भारी
म त तिम्रो घनश्याम तिमी मेरी राधा पियारी…
चलचित्र कान्छीको यो हिट गीतमा आफ्नो नृत्य र अभिनयले दर्शकलाई हँसाउन सफल वरिष्ठ हास्यव्यंग्य अभिनेता आनन्द थापा अब हामीमाझ रहेनन् । कलाकार आनन्द थापाको ८० वर्षको उमेरमा निधन भएको छ ।
चार दिनअघि मात्र चलचित्र विकास बोर्डका अध्यक्ष एवं वरिष्ठ अभिनेता, निर्माता केशव भट्टराई र पाँच दिनअघि वरिष्ट अभिनेता दीपक क्षत्रीलाई गुमाएको नेपाली चलचित्र उद्योगले यतिबेला अर्का वरिष्ठ हास्य अभिनेता आनन्द थापालाई गुमाएको छ ।
भक्तपुरमा आफ्ना कान्छा छोरासँगै बस्दै आएका कलाकार थापा मंगलबार बेलुका ६ बजे घरमा परिवारसँग बोल्दा बोल्दै बसेकै ठाउँमा ढलेका थिए । त्यसपछि उनी उठेनन् । उठाउँदा उनको निधन भइसकेको परिवारले बताएका छन् । उनी विगत दुई वर्षदेखि पक्षघातको समस्याले पीडित थिए ।
कलाकार थापाको बुधबार मध्यान्न पशुपति आर्यघाटमा दाहसंस्कार गरियो । उनको अन्त्येष्टिअघि बिहान १० बजेबाट पशुपति आर्यघाटमा श्रद्धाञ्जली कार्यक्रम राखिएको छ । थापासँग थुप्रै चलचित्रमा जोडी भएर काम गरेकी हास्य अभिनेत्री वसुन्धरा भुसालदेखि थुप्रै कलाकारले आर्यघाट पुगेको उनको पार्थिव शरीरमा फूलगुच्छा चढाउँदै श्रद्धाञ्जली दिए । सो क्रममा चलचित्र विकास बोर्डका तर्फबाट बोर्ड सदस्य एवं चलचित्र निर्देशक दयारामा दाहालले उनलाई श्रद्धाञ्जली दिए ।
उनको पार्थिव शरीरमा नेपाल
चलचित्र कलाकार संघका तर्फबाट पूर्वअध्यक्ष नवल खड्काले संघको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे । कलाकार थापा स्थापना कालदेखि नै संघको सदस्य रहँदै आएको खड्काले बताए । विभिन्न चलचित्रकर्मी तथा शुभचिन्तकले घाट पुगेर उनको पार्थिव शरीरमा श्रद्धासुमन अर्पण गरे ।
दिवंगत थापाका चार छोरामध्ये अहिले दुई छोरा र श्रीमती छन् । उनी कान्छा छोरासँग बस्दै आएका थिए । उनका जेठा छोरा शिवको तीन महिना अघि निधन भएको थियो भने अर्का छोरा केही समय अघि नै बितेका थिए । थापाका चार छोरामध्ये तीन छोरा नाट्य कलाकारका रूपमा सक्रिय थिए ।
हास्य अभिनेता आनन्द थापा ८० वर्षअघि धनकुटाको मुगामा जन्मिएका थिए । यी कलाकार पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निकट नातेदार थिए । सूर्यबहादुरलगायत
आफन्तको प्रेरणाले काठमाडौंमा स्थापित भएका उनी नाटकमा औधी रुचि राख्थे ।
आनन्द थापा २०२० सालतिरै नाटकमा लोकप्रिय भइसकेका थिए । त्यतिबेला उनी नाटकमा महिलाको भूमिका निर्वाह गर्ने कलाकारका रूपमा समेत लोकप्रिय थिए । उनले २०२० पछि २०५० को दशकसम्म सात दर्जन बढी नाटकमा अभिनय गरे । एक समय सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्ने
नाटकमा हास्य भूमिकामा प्रायः
आनन्द थापा नै हुने गर्थे । बालकृष्ण समदेखि हरिहर शर्मासम्मका प्रिय कलाकार आनन्द थापा थिए ।
चलचित्रमा उनलाई प्रकाश थापाले अघि बढाएका हुन् । आनन्द थापाको नाटक हेरेपछि प्रकाश थापाले नै उनलाई २०२८ सालमा चलचित्र मनको बाँधमा हास्य भूमिका दिए । फिल्म मनको बाँध दर्शकले निकै मन पराए । जसबाट कलाकार थापा हास्य अभिनेताको रूपमा लोकप्रिय भएका थिए ।
त्यसपछि उनले चार दर्जनभन्दा बढी चलचित्रमा निरन्तर अभिनय गरे । मनको बाँध, कुमारी, सिन्दुर, के घर के डेरा, कान्छी, मायाप्रीति, जस्ता थुप्रै हिट फिल्ममा उनले हास्यप्रधान भूमिका निर्वाह गरेका थिए । एक समय उनी हास्य अभिनेत्री वसुन्धरा भुसालसँग जोडीका रूपमा पनि फिल्ममा प्रस्तुत हुने गरेका थिए । उनी महजोडीदेखि अहिलेका धेरै हास्य कलाकारको अग्रज तथा प्रिय कलाकार थिए ।
तीन वर्षअघि रिलिज भएको फिल्म अचानकमा काम गरेको केही समयपछि पक्षघात भएपछि उनी थला परेका हुन् । उनी ७७ वर्षको उमेरसम्म पनि चलचित्र, टेली चलचित्र र नाटकमा सक्रिय थिए ।
२०३७ को दशकदेखि २०६० को दशकसम्म प्रज्ञा प्रतिष्ठानले आयोजना गर्ने गाईजात्रा हास्य महोत्सवमा उनले निरन्तर आफ्नो प्रस्तुति दिएका थिए । हास्य कलाकार थापाले सय बढी टेली चलचित्र तथा टेलिसिरियलमा अभिनय गरेका थिए । उनले केही हास्य टेलिशृंखला र नाटकको लेखन निर्देशनसमेत गरेका थिए । राजधानी दैनिकमा खबर छ ।