भूमिका पाख्रिन , पुष ७
मोरङको बुढीगङ्गा गाउँपालिकाका युवाहरुको संयुक्त प्रयासमा सोमबार कपडा बैंक सुरु हुने भएको छ । दिन प्रतिदिन जाडो बढ्दै जादा चिसोका कारण मानिसको मृत्यु सम्म हुने हुँदा सम्पुर्ण युवाहरु मिलि यो अभियान सुरु गर्न लागिएको स्थानीय युवा सागर थापा बताउछन् । साथै थापाले सोमबार टङ्कीसिनुवारी चौकमा बिहान ७ बजे भेला भई सम्पुर्ण बुढिगङ्गाबासीहरु, संघ संस्था, राजनीतिक दल लगायतलाई यो अभियानमा साथ दिन आग्रह गरे ।
आफू संग भएका लगाउन मिल्ने नयाँ तथा पुराना कपडाहरु कपडा बैंकमा जम्मा गर्ने र आवश्यकता परेका जो कोहीले कपडा लिन सक्ने छन् । कसैको सानो सहयोगले आर्थिक अभाव कै कारण जाडोमा कपडा किन्न नसक्नेहरुलाई यो अभियानले केही हदसम्म भएपनि मदत पुग्ने युवाहरुको भनाई छ । बुढिगङ्गाका विभिन्न सामाजिक संस्थामा आबद्ध सागर थापा, जोसेफ घिमिरे, ज्योती अधिकारी, नवीन पोखरेल लगायतका युवाहरुले यो अभियानको थालनी गर्ने भएका हुन् ।