काठमाडौं । पश्चिमी वायुका कारण आज देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ ।देशका मध्य र पूर्वका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज देशको पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही मध्य र पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।देशको पूर्वी भू–भागका केही स्थानहरूमा र मध्य र पश्चिमी भू–भागका पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन् र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
पहाडी भू भागमा मेघ गर्जन् र चट्याङसहित वर्षा हुने र हिमाली भेगमा हिमपात हुने कारण सबैमा सर्तकता अपनाउन मौसम पुर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
यसैबीच, म्याग्दीको उच्च पहाडी बस्तीहरुमा मङ्गलबार सातौँ पटक हिमपात भएको छ ।सोमबार रातिदेखि भएको वर्षा र हिमपातका कारण जनजीवनका साथै विकास निर्माणका योजनाहरु प्रभावित भएका छन् ।धवलागिरी गाउँपालिकाको गुर्जा, लुलाङ, मङ्गलाको टोड्के, झाँक्रीपानी, रघुगङ्गा गाउँपालिकाको रुइसे, भगवती, कुइनेमङ्गले, अन्नपूर्ण गाउँपालिकाको घोडेपानी, चित्रे, टिकोट, राम्चे लगायतका बस्तीमा हिउँ परेको छ ।
गुर्जामा एक फिट हिउँ जमेको स्थानीय जनकल्याण माविका शिक्षक अशोक छन्त्यालले जानकारी दिए ।यसअघि यही फागुन ९ गते हिमपात भएको थियो । सो हिउँ पग्लिनसक्दै थपिएको हिउँले चिसो बढेको छ ।
विगतका भन्दा यो वर्ष धेरै पटक लगातार जसो हिउँ परेको छ ।