जनार्जन खत्री
सर्लाही, फागुन २० गते । सर्लाहीको हरिवन नगरपालिका–४, सासापुर गणेश चौकमा स्थानीय वासिन्दाले अहिले पूर्व–पश्चिम राजमार्ग बन्द गरिरहेका छन् ।
सोमवार राती गणेश चौकमा ना ८ ख ८५२१ नम्वरको ट्रकको ठक्करबाट ना ४८ प १७०१ नम्वरको मोटरसाइकलमा सवार स्थानीय २१ वर्षीय रोशन भुजेलको मृत्यु भएपछि आक्रोशित भएका स्थानीय वासिन्दाले राती पनि तीन घण्टा राजमार्गमा गाडी चल्न दिएका थिएनन् । दुर्घटनामा युवकको घटनास्थमै मृत्यु भएपछि स्थानीय वासिन्दाले ट्रकमा आगजनी समेत गरेका थिए । आगजनीबाट ट्रक पूर्णरुपमा जलेको छ ।
दुर्घटनाका सम्बन्धमा ट्रक व्यवसायीले चासो नदिएको भन्दै स्थानीय वासिन्दाले आज मध्यान्हदेखि पुनः राजमार्ग अवरुद्ध गरिरहेका हुन् । राजमार्ग अवरुद्ध गरिएपछि सासापुरसहित नवलपुर, हरिवन क्षेत्रमा सवारीको लामो जाम छ । राजमार्ग खुलाउन अहिले ईलाका प्रहरी कार्यालय हरिवनमा छलफल भइरहेको हरिवन नगरपालिका–४, का वडाध्यक्ष धनबहादुर वाईवाले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । वडाध्यक्ष वाईवाले छलफल सकारात्मक रुपमा अघि बढिरहेकाले केहीबेरमै राजमार्ग खुल्ने अवस्था रहेको बताउनु भएको छ ।
छलफलमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी, हरिवन नगरपालिकाकी उपप्रमुख रेणुका पौडेल, ट्रक व्यवसायीका प्रतिनिधि, मृतकका आफन्त लगायत सहभागी छन् । सोमवार राती भएको दुर्घटनामा मृत्यु भएका युवकको अब नमूना अस्पताल हरिवनमा रहेको छ ।
सहमति जुट्न नसक्दा दुर्घटना भएको घण्टौं भइसक्दा समेत मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा लान सकिएको छैन् । दुर्घटनामा संलग्न ट्रकका चालक हरिवन प्रहरीको नियन्त्रणमा रहेका छन् ।