विष्णु पोखरेल
दमक, चैत ८ गते । झापामा भारतबाट माछा मासु ल्याउन प्रतिबन्ध गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि पुर्व सावधानी अपनाउने क्रममा माछामासु ल्याउन प्रतिबन्ध लगाईएको बताईएको छ । झापासँग सिमा जोडिएका सबै नाकाहरु बन्द गर्दै प्रमुख नाका काँकडभिट्टामात्र सञ्चालनमा ल्याउने निर्णय पनि भएको थियो ।
कोरोना भाइरसको संक्रमण रोकथाम तथा ब्यवस्थापनका लागि बनेको जिल्लास्तरीय समन्वयकारी संयन्त्रका संयोजक जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलका अनुसार काँकडभिट्टा नाका पनि विहान ८ बजेदेखि बेलुका ६ बजेसम्म मात्र खुला राख्ने निर्णय भएको छ । ‘यो झापाबासीको सुरक्षाका लागि भएको निर्णय भएकाले सवैले पालना गर्नेमा आशाबादी छौ,’ उहाँले भन्नुभयो ।
‘खुलमखुल्ला माछा मासु विक्री पनि रोक्ने निर्णय भएको र यसको कार्यन्वयनका लागि स्थानीय तहहरुलाई परिपत्र गरिने पोर्तेलको भनाइ छ । अव्यवस्थित तवरले माछामासु विक्री वितरणले पनि जोखिम निम्तन सक्ने भएकाले पुर्व सावधानी अपनाउन खोजिएको हो र यसमा सवैको साथ रहनु पर्छ,’ उहाँले भन्नुभयो । जिल्ला प्रशासन कार्यालय झापा लगायतका सरोकारवालाहरुलाई यसको कार्यान्वयनका लागि निर्देशन दिईएको पनि उहाँले जानकारी दिनु भएको छ ।