इनरुवाका मनकारी युवा : असहाय र गरीब परिवारका लागि घर मै तरकारी पुर्याउदै

इनरुवाका मनकारी युवा : असहाय र गरीब परिवारका लागि घर मै तरकारी पुर्याउदै

अमर काफ्ले,

लकडाउनले विहान बेलुकाको गाँस टार्न समस्या भइरहेको अवस्थामा सुनसरी इनरुवाका युवाहरुले असहाय परिवारका सदस्यहरुलाई घर–घरमा नै पुगेर सित्तैमा तरकारी उपलब्ध गराएका छन् ।

कोरोना भाइरसको महामारीको जोखिमबाट बच्न मुलुक लकडाउनमा रहेका बेला इनरुवाका युवाहरुले घर घरमा सित्तैमा तरकारी पुर्याउने अभियान चलाएका हुन् ।

लकडाउनको पालना गर्दा छाक टार्न समस्यामा परेका परिवारलाई लक्षित गरी इनरुवाका दिपेश ढकाल, बिवष पण्डित र प्रमेश पौडेलले सित्तैमा तरकारी वितरण अभियान सञ्चालनमा ल्याएका हुन् ।

व्यक्तिगत रकम जम्मा गरी समस्यामा परेका परिवारलाई छाक टार्ने उद्येश्यले उनीहरुले तरकारी घरमै पुर्याउन थालेका हुन् । अभियान सञ्चालनमा ल्याएका युवाहरुलाई जिल्ला प्रशासन कार्यालय र सुनसरी प्रहरीबाट समेत अनुमति प्रदान गरिएको छ ।

दिपेश ढकालका अनुसार प्रारम्भमा तीन जनाले रकम जम्मा गरी अभियान थालिएको हो । १८ गते सम्मलाई घर घरमा तरकारी पुर्याउने लक्षसाथ अभियानको सुरुवात गरिएको ढकालले बताउनुभयो ।

युवाहरुले किसानसँग उनीहरुको उत्पादन सुलभ दरमा खरिद गरी समस्यामा परेका परिवारको घर सम्म पुगेर वितरण गर्ने गर्दै आएका छन् । गरीब,दुःखी,असहाय र अशक्त परिवारलाई लक्षित गरी सञ्चालनमा ल्याइएको अभियान आवश्यक्ताका आधारमा अघि बढाइने युवाहरुले बताएका छन् ।

लक्षित समुदायले मात्र नभएर समस्यामा परेका जो कोहीले समेत सित्तैमा तरकारीको सेवा पाउने विवश पण्डितले बताउनुभयो । तरकारीका पोको तयार पारी घर घरमा पुर्याई दिने गरेको पण्डितको भनाइ छ ।

लक्षित समुदायको बसोवास रहेको क्षेत्रमा आफैं पुगेर समेत सित्तैमा तरकारी उपलब्ध गराउँदै आएको सित्तैमा तरकारी अभियानमा जुटेका युवा प्रमेश पौडेलले बताउनुभयो ।

सित्तैमा तरकारी प्राप्त गर्न ९८०२७२१०२०, ९८४२१२३५७६ र ९८६२००१५८१ नम्बरमा नाम टिपाउनु पर्ने छ । सित्तैमा अभियान सञ्चालनमा ल्याएको युवाहरुले सक्षम व्यक्ति र परिवारकासाथै अत्यावश्यक बाहेकको अवस्थामा निःशुल्क सेवाको अपेक्षा नगर्न भनेका छन् ।

अभियान इनरुवा नगरपालिका भर उपलब्ध रहने बताइएको छ । युवाहरुले चालेको अभियान नगरमै उदाहरणीय बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्