खोटाङ । लकडाउनको समयमा सुरक्षार्थ खटिने प्रहरीका लागि नागरिकले खाजा तथा पानी उपलब्ध गराइरहेका छन् । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले आह्वान गरेको लकडाउनका क्रममा सुरक्षार्थ खटिएका प्रहरीले उपयोग गर्न पाउने गरी जिल्लामा क्रियाशील विभिन्न सङ्घसंस्थाले खाजा तथा पानी उपलब्ध गराउने गरेका हुन् ।
लकडाउन सफल बनाउन सुरक्षार्थ खटिएका प्रहरीलाई बुधबार खोटाङ यातायात प्रालिले रु ३५ हजार मूल्य बराबरको पानी, बिस्कुट, चाउचाउ, जुस, साबुन, स्यानिटाइजरलगायतका सामग्री प्रदान गरेको छ ।
देशमा आइपरेको सङ्कटका बेलामा ज्यान जोखिममा राखेर खटिएका प्रहरीको हौसलाका लागि फास्टफुड तथा व्यक्तिगत सुरक्षा सामग्री प्रदान गरिएको यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले बताए ।
जिल्लाका विभिन्न सङ्घसंस्थाबाट प्राप्त भएको सामग्री नेपाल प्रहरी, सशस्त्र प्रहरी र लकडाउनका क्रममा समस्यामा परेका नागरिकको सहयोगमा उपयोग गरिने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक बामदेव गौतमले बताए । रासस