अभिमन्यू लामिछाने ,उदयपुर, चैत ३०। उदयपुरमा लकडाउन उल्लंघन गर्ने व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिई दिनभर तातो घाममा राखेर सबक सिकाएको छ ।
कोरोना संक्रमण रोक्न सरकारले गरेको लकडाउनको उल्लंघन गर्दै मानिसहरु अनावश्यक बाहिर हिंडडुल गरेपछि प्रहरीले कडाई गर्ने क्रममा यसरी सबक सिकाएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले लकडाउन उल्लंघन गर्नेलाई शनिबारबाट कडाईका साथ यो अभियान सुरु गरिएको उदयपुरका प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरले जानकारी दिनुभयो ।
सदरमुकाम गाईघाटको बिभिन्न स्थानहरुबाट शनिबार ३२ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिकृष्ण केसीले बताउनुभयो ।
अत्यावश्यक काम भएकाले भने त्यसबारे प्रहरीलाई जानकारी गराएर आफ्नो काम गर्न सक्ने जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ ।
पक्राउ परेका ३२ जनालाई नै जिल्ला प्रहरी कार्यालय उदयपुरको फिल्डमा राखिएको थियो । उनीहरुलाई सम्झाईबुझाई गरेर साँझ छोडको समेत एसपी बुढामगरले बताउनुभयो ।
अन्य दिनको तुलनामा शनिबार सदरमुकाम गाईघाटमा भने निकै कडाई गर्नुका साथै प्रहरीले बिहानैदेखि घर बाहिर ननिस्कन भन्दै माइकिङ समेत गरेको थियो ।