राजविराज, बैशाख २
दिल्लीको निजामुद्दीनस्थित तबलिकी जमातमा सहभागी भएर फर्केका आठ जना सप्तरीमा फेला परेका छन् ।
गत मार्च ८ र ९ तारिखमा उक्त जमातमा सहभागी भएर घरमा बसिरहेका उनीहरुको कोरोना परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी आनन्दकुमार ठाकुरले बताए।
उनीहरु मध्ये खडग नगरपालिकाका तीन जना, राजविराज नगरपालिका, सुरुङ्गा नगरपालिका र तिलाठी कोइलाडी, विष्णुपुर र अग्नीसाइर कृष्णासवरण गाउँपालिकाका एक–एक जना रहेका छन्। अस्पतालका मेकिडल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासका अनुसार उनीहरुको आरडीटी परीक्षण भइरहेको छ। उनीहरुको स्वाब संकलन गरिने तयारी भएको छ।
यसैबीच सप्तरीको डिमनस्थित मस्जिदमा ११ जना भारतीय भेटिएका छन्। भारतको इन्दौरका उनीहरु लकडाउन भन्दा केही अघिबाटै उक्त मस्जिदमा बस्दै आएको खुलेको छ।
उनीहरुलाई उक्त मस्जिदमै क्वारेन्टाइनमा राखिएको सहायक प्रजिअ ठाकुरले बताए।- कान्तिपुर