कतारमा नेपाली श्रमिकहरूलाई गैरकानुनी ढङ्गले निकालियो

<span class='c1'>कतारमा नेपाली श्रमिकहरूलाई</span> <span class='c2'>गैरकानुनी ढङ्गले निकालियो</span>

कोभिड–१९ परीक्षण गर्न लागिएको भन्दै कतारी अधिकारीहरूले सयौँ आप्रवासी श्रमिकहरूलाई आफ्नो नियन्त्रणमा लिएको र कैयौँलाई स्वेच्छाचारी ढङ्गमा निष्कासन गरेको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ ।

एम्नेस्टी इन्टरनेसनलले फागुन २९ र ३० गते कतार प्रहरीले गिरफ्तार गरेका २० जना नेपाली श्रमिकहरूसँग अन्तर्वार्ता लिएको थियो । उनीहरुका अनुसार प्रहरीले प्रायः सबैलाई कोभिड–१९ को परीक्षणका लागि लगिन लागेको तथा परीक्षण सकिएपछि उनीहरूलाई आ–आफ्नो आवासमा फर्काइदिने भनेको थियो । तर उनीहरूलाई हिरासत केन्द्रहरूमा लगियो र धेरै दिनसम्म त्यहाँ राखेर पछि नेपाल पठाइयो ।

गिरफ्तारी र हिरासत

फागनु २९ गते बिहीबार र ३० गते शुक्रबार सयौँ आप्रवासी श्रमिकहरूलाई प्रहरीले घेरा हालेर नियन्त्रणमा लियो र दोहाको औद्योगिक क्षेत्र, बारवा शहर र लेबर शहरसमेत विभिन्न भागहरूमा उनीहरूलाई हिरासतमा राख्यो । आफ्नो आवासबाट बाहिर सब्जी खाद्यान्न लगायतका सरसामान किनमेल गर्न गएको बेला उनीहरूलाई गिरफ्तार गरिएको थियो ।

केही श्रमिकहरूले प्रहरीले उनीहरूलाई खासगरी कोभिड–१९ परीक्षणको लागि लान लागेको र पछि उनीहरूको आवासमै फर्काइदिने भनी भनेको बताए । अन्य श्रमिकहरूले भने प्रहरीले अरेबिक भाषामा कुरा गरेको र आफूले कोरोना भन्ने शब्द मात्र बुझेको बताए ।

एकजनाले एम्नेस्टी इन्टरनेसनललाई भने, ‘हामीलाई भाइरस परीक्षणका लागि रोकिएको भनियो । प्रहरीले डाक्टर आएर भाइरस जाँच्ने भनी बतायो । तर उनीहरूले हामीलाई ढाँटेका रहेछन् ।’

त्यसपछि ती श्रमिकहरूलाई बसमा कोचियो र औद्योगिक क्षेत्रको हिरासत स्थलमा लगियो जहाँ उनीहरूको कागजात र मोबाइल फोन जफत गरियो र उनीहरूको फोटो खिच्नुका साथै औँठाको छाप पनि लिइयो । श्रमिकहरूलाई विभिन्न देशका सयौँ अन्य मानिसहरूसँगै अमानवीय अवस्थामा हिरासतमा राखिएको थियो । उनीहरूलाई खाट र ओड्ने ओछ्याउने नभएको एकदमै भिडभाडयुक्त कोठाहरूमा पर्याप्त पानी र खाना समेत नदिएर राखिएको थियो ।

एकजना नेपालीले एम्नेस्टी इन्टरनेसनललाई भने, ‘जेल मानिसले खचाखच भरिएको थियो । हामीलाई दिनमा जम्मा एउटा रोटि दिइएको थियो जुन अपुग हुन्थ्यो । सबै मानिसलाई भुईंमा राखिएको हुनथ्यो र खानालाई प्लास्टिकमा राखिएको हुन्थ्यो । भिडभाडका कारण कतिपयले त खानेकुरा थुत्न समेत सक्दैनथे ।’

अन्तर्वार्ता लिइएका २० जनामा तीन जनाले मात्रै हिरासतमा रहेको बेला उनीहरूको शरीरको तापक्रम मापन गरिएको बताए ।

हिरासतमा रहेको बेलामा श्रमिकहरूलाई देशबाट निष्कासन गरिन लागेको बताइयो । केहीले त एयरपोर्ट लगिँदै गर्दा मात्रै आफूलाई निष्कासन गर्न लागेको थाह पाए । कतिलाई चैत्र २ मा निष्कासन गरिएको थियो भने अन्यलाई चैत्र ६ मा निष्कासन गरिएको थियो । कसैले पनि आफूलाई किन हिरासतमा राखिएको वा किन निष्कासन गरेको भनेर कुनै उजुरीसम्म गर्न पाएनन् ।

कतिपयलाई आफ्नो सरसामान प्याकिङ्ग गर्नका लागि केही मिनेटको समय दिइएको थियो भने अन्यलाई त आफ्नो कुनै सामान ल्याउने अवसर समेत दिइएन ।

एकजनाले भने, ‘मलाई हतकडी लगाएर अपराधीलाई जस्तो व्यवहार गरियो । मलाई मेरो क्याम्पमा सामान लिनका लागि लगिएको थियो तर हतकडी लगाएको अवस्थामा मैले कसरी मेरो सरसामान जम्मा गरेर प्याकिङ्ग गर्नु ?’

सबैजसो श्रमिकहरूले हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा विमान चढ्नुअघि र विमानबाट उत्रिएपछि काठमाडौँमा उनीहरूको शरीरको तापक्रम लिइएको बताए ।

प्रहरीले उनीहरूलाई यदि कुनै गुनासो गरे वा त्यो अवस्थालाई चुनौती दिने कुनै कार्य गरेमा उनीहरूलाई फौजदारी अभियोग लगाइदिने तथा लामो समयसम्म हिरासतमा राख्ने धम्की दिएको कुरा कतिपयले बताए ।

२० जनामध्ये दुई जनालाई मात्र आफूले काम गरेको कम्पनीले सम्पर्क गरी बाँकी रहेको पारिश्रमिक चुक्ता गर्ने जनाएको छ । एकजना श्रमिकले भने आफूलाई कम्पनीले पैसा दिएको तर हिरासतमा रहेको बेला प्रहरीले ‘सुरक्षाका लागि’ भन्दै लगेको र पछि फिर्ता नगरेको बताए । अर्का श्रमिकले भने आफूले काम गरेको कम्पनीले पैसा पठाउनका लागि बैँक खाता आवश्यक पर्ने भन्दै उनलाई एउटा बैंकमा खाता खोल्नु भनी भनेको बताए ।

सबै श्रमिकहरूले आफूले पाउने पारिश्रमिक र काम छाड्दा पाउने अन्य सुबिधाहरू नलिइकन कतार छाडेका थिए । एकजनाले भने, ‘अहिले कठिन छ । मेरा बालबालिकासँग लगाउने लुगा छैन । उनीहरूलाई खुवाउन अझ कठिन छ ।’ अर्का एकजनाले आफूलाई ऋणदाताले धम्काइरहेको र आफ्ना पाँच जना बालबालिकाहरूको लालन पालनका लागि सङ्घर्ष गरिरहेको बताए ।

कतार सरकारको प्रतिक्रिया

कतार सरकारले भने कोभिड–१९ प्रतिकार्यको हिस्साअन्तर्गत औद्योगिक क्षेत्रमा निरीक्षण गर्ने क्रममा ‘अधिकारीहरूले गैरकानुनी र अनैतिक गतिविधिमा संलग्न व्यक्तिहरू फेला पारेको’ बतायो । ‘यस्ता गतिविधिहरूमा मानव स्वास्थ्यलाई गम्भीर रूपमा खतरामा पार्न सक्ने खतरनाक खाद्य वस्तु लगायतका निषेधित र प्रतिबन्धित वस्तुहरूको उत्पादन र बेचबिखन आदि रहेको’ पनि उसले बताएको छ ।

एम्नेस्टी इन्टरनेसलका अनुसार यी श्रमिकहरूलाई दिइएको कतारी भाषामा लेखिएको कागजातहरूलाई समीक्षा गर्याे जसले उनीहरूलाई फौजदारी अपराधको आरोप लगाएको कुनै सङ्केत गर्दैन । साथै अन्तर्वार्ता लिइएका यी कुनै पनि व्यक्तिहरूलाई अन्तर्राष्ट्रिय मानवअधिकार कानुनले प्रत्याभूत गरेअनुसार उनीहरूलाई हिरासतमा राखिएको र अन्ततोगत्वा निष्कासन गरिएको विषयको वैधानिकतालाई चुनौती गर्ने अवसरसमेत उपलब्ध गराइएको थिएन ।

 

हिरासतमा लिइएको र निष्कासन गर्ने धम्की दिइएको कुनै पनि आप्रवासी श्रमिकलाई यसो गर्नाको कारण खुलाउन र उनीहरूलाई त्यसको प्रतिवाद गर्ने अवसर दिन एम्नेस्टी इन्टरनेसनले कतारी अधिकारीहरूलाई आह्वान गरेको छ । कतारले अधिकार उल्लङ्घन भोगेका श्रमिकहरूलाई प्रभावकारी उपचार र परिपूरण पनि सुनिश्चत गर्न माग गरिएको छ ।

‘हामीले कुराकानी गरेका कसैले पनि उनीहरूलाई किन यस्तो व्यवहार गरिएको थियो भन्ने कुराको स्पष्टीकरण पाएका छैनन् । न त उनीहरूले आफ्नो हिरासत र निष्कासनका विरुद्ध कुनै उजुरी नै गर्न पाए । अमानवीय हिरासतको अवस्थामा निकै दिन बिताएपछि धेरैजसोलाई नेपाल जाने विमानमा राख्नुअघि उनीहरूलाई आफ्नो सर सामान ल्याउने समेत अवसर दिइएको थिएन,’ एम्नेस्टी इन्टरनेसनलका ग्लोबल इस्युज्का निर्देशक स्टिभ ककबर्नले भने ।

‘कतारी अधिकारीहरूले यो महामारीलाई आप्रवासी श्रमिकविरुद्ध थप दुव्र्यवहार गर्ने अवसरको रूपमा प्रयोग गरिनु दुःखद् छ,’ उनले भनेका छन् ।

यी व्यक्तिहरूलाई जसरी दुव्र्यवहार गरिएको छ सोबापत अधिकारीहरूले उनीहरूलाई परिपूरण उपलब्ध गराउनुपर्दछ र यदि उनीहरूले चाहेको खण्डमा उनीहरूलाई कतार फर्कन दिनु पर्दछ । साथै उनीहरू कार्यररत रहेका रोजगारदाता कम्पनीहरूले उनीहरूले पाउनुपर्ने पारिश्रमिक लगायतका अन्य रोजगार सुविधाहरू यथाशीघ्र भुक्तानी गर्नुपर्दछ ।’ - रातोपाटि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्