काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउनको समयमा इन्टरनेटको पैसा सकिए पनि सेवा नरोक्न निर्देशन दिएको छ ।
प्राधिकरणले आज सूचना जारी गर्दै कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन तथा रोकथामका लागि नेपाल सरकारबाट मुलुकभर बन्दाबन्दी (लकडाउन) गरिएको हालको विषम् परिस्थितिमा अत्यावश्यक सेवाहरु सूचारु राख्नुपर्नेमा केही इन्टनेट सेवा प्रदायकहरुले समयमा महसुल भुक्तानी नगरेका कारण सेवा अवरुद्ध गरेको भन्ने गुनासो प्राप्त भएको भन्दै सेवा अवरुद्ध नगर्न निर्देशन दिएको जनाएको छ ।
प्राधिकरणले भनेको छ, "बन्दाबन्दीको अवधिमा इन्टरनेट सेवाको महसुल भुक्तानी गर्न असमर्थ भएको अवस्थामा सेवा अवरुद्ध हुँदा आममानिसमा त्यसको नकारात्मक असर पर्न जाने भएकाले सम्भव भएसम्म अनलाइन माध्यमबाट भुक्तानी लिने व्यवस्था गर्नु हुन र यसरी भुक्तानी गर्न असमर्थ ग्राहकहरुको इन्टर्नेट सेवासमेत बन्दाबन्दी अवधिभर निरन्तर सञ्चालन हुने गरी बन्दाबन्दीपश्चात विलम्ब शुल्क नलिई भुक्तानी लिने व्यवस्था मिलाउन सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त सबै सेवा प्रदायकहरु (प्रमुख दूरसञ्चार सेवा प्रदायकहरुलगायत) लाई निर्देशन जारी गरिएको ब्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।"